रियल मड्रिडलार्इ स्पेनिस सुपर कपको उपाधि

काठमाण्डौ, १ भदौ । स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ ।

सुपर कपको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको एल क्लासिकोमा बार्सिलोनालाई २–० ले हराउँदै समग्रमा ५–१ को जितसहित रियल मड्रिडले उपाधि जितेको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउने क्रममा मार्को एसेन्सियो र करिम बेञ्जेमाले १-१ गोल गरे । टिमका स्टार क्रिस्टियानो रोनाल्डो भने ५ खेलको प्रतिबन्धका कारण मैदानमा उपस्थित थिएनन् । यसै प्रतियोगिताको पहिलो लेगमा रेफ्रीलाई धकेलेपछि रोनाल्डोमाथि प्रतिबन्ध लागेको हो ।

रियलले लिगा च्याम्पियन र बार्सिलोनाले कोपा डेल रे विजेताको हैसियतमा प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएका हुन्। स्पेनिस लिगको नयाँ सिजन यसै साता सुरु हुँदैछ। सिजनको सुरुवातमा मिलेको यो जितले रियलको मनोबल निकै उच्च बनाएको छ।

आफ्ना स्टार खेलाडी नेयमारलाई गुमाएको बार्सिलोनाको लय भने सिजनको सुरुवातमा निकै खराब देखिएको छ । नेयमार किर्तिमानी २२२ मिलियन युरोमा यसै सिजन फ्रेन्च टोली पेरिस सेन्ट जर्मेनमा आबद्ध भएका छन्।