निर्वाचनलाई लक्षित गर्दै बारामा प्रहरी जाँचमा कडाई

उमेश दुबे / बारा, १४ वैशाख । नेपाल र भारतको बारा सीमाना नाकामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको निगरानी बढेको छ ।

नेपाल र भारतको सीमाना नाकामा बढ्दै गएको तस्करी र आपराधिक गतिविधिलाई नियन्त्रण गर्नको लागि मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका डिआईजी गणेश केसीकाे निर्देशनमा सीमामा प्रहरीको निगरानी बढेको हो ।

डिआईजी केसीले वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको चुनाव र तराईको जिल्लाहरुमा बढ्दै गइरहेको आपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडा निर्देशन दिएको बताए । भारतबाट नेपाल भित्रिने सवारी साधनलाई राम्ररी चेकजाँच गरी मात्र नेपाल भित्रिन दिने गरेको बारा प्रहरीले जनाएको छ ।
स्रोतको अनुसार यसअघि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको ४ जना प्रहरीले अवैध तरिकाले नेपाल भित्रिएको मालसमान पक्राउ गर्न जाँदा तस्कर र प्रहरीबीच झडप भए पश्चात् नाकाहरुमा प्रहरी परिचालन गरिएको हो ।