संविधान संशोधनको प्रस्तावमा असन्तुष्टि जनाउँदै मधेशी मोर्चाको प्रदर्शन

दिनेश शर्मा /राजविराज, ३१ चैत्र । संविधान संशोधनको नयाँ प्रस्तावमा असन्तुष्टि सहित चुनाव बहिस्कार गर्ने निर्णय गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बिहीवार राजविराजमा प्रदर्शन गरेको छ ।

विगतमा भएको सहमति र सम्झौता अनुसार दोश्रो संशोधन प्रस्तावले पनि मधेशी जनताको भावना समेट्न नसकेको भन्दै मोर्चाले मंगलबार दर्ता भएको नयाँ प्रस्तावको विरोधमा प्रदर्शन गरेको हो ।

 

मोर्चा सप्तरीका संयोजक दिनेश यादवको अगुवाइमा स्थानीय शिव मन्दिर प्राङ्गणबाट सुरु भएको प्रदर्शनमा सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव, महासचिव मनिष सुमन, तमलोपाका सह–सचिव जय प्रकाश ठाकुर, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शम्भु झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डल लगायतका केन्द्रिय नेताहरुको सहभागीता थियो ।

प्रदर्शनका क्रममा मधेशी मोर्चाका नेता कार्यकर्ताले चुनाव विरोधी नारा लगाउँदै मधेशी जनताको माग सम्बोधन गर्न माग गरेका थिए । प्रदर्शनपछि आयोजित विरोध सभाका सहभागी वक्ताहरुले मोर्चा र गठबन्धनसँग सरकारले गरेको छलफलको सहमति विपरीत नयाँ संशोधन प्रस्ताव दर्ता भएकाले त्यसलाई नस्विकार्ने बताए ।

मोर्चाले सहमति र माग सम्बोधन बिना गरिने स्थानीय चुनावमा सहभागी पनि नहुने र जबर्जस्ती गरे बिथोलेरै छाड्ने चेतावनी पनि दियो ।