August 17, 2017

शिक्षालाई बैज्ञानिक, व्यावहारिक र रोजगारमूलक बनाउन अावश्यक: प्रधानमन्त्री

काठमाण्डौ २९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षालाई बैज्ञानिक, व्यावहारिक, रोजगारमूलक र गुणस्तरीय बनाउन आवश्यक रहेको बताएका छन  ।
त्रिवि सभाको आईतबार कीर्तिपुरमा उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री देउवाले प्राथमिक शिक्षासँगै उच्च शिक्षालाई समाजका सबै वर्ग, समूह, लिङ्ग, धर्म र क्षेत्रको पहुँचमा पुर्याउन आवश्यक रहेको बताए ।

उनले वर्तमान सरकार संविधानको सफल कार्यान्वयन गर्नका लागि तत्पर रहेकाले यसप्रति सकारात्मक हुँदै रचनात्मक सहभागिता कायम गर्न सबै क्रियाशील हुनुपर्नेमा जोड दिए
त्रिविले हरेक वर्ष सञ्चालन गर्दै आइरहेको दीक्षान्त समारोहमा विद्यार्थीको चाप अत्यधिक रुपमा बढ्दै गएकाले व्यवस्थित रुपमा सञ्चालन गर्न अब छुट्टाछुट्टै दीक्षान्त समारोह आयोजना गर्ने भएको जनाएको छ ।

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आव २०७४ /०७५ का लागि रु. १९ अर्ब ३१ करोड सात लाख ५८ हजार प्रस्तावित आयव्ययको अनुमानित बजेट प्रस्तुत गरेका थिए  । त्यस्तै त्रिविका शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठीले विश्वविद्यालयको ५८औँ वार्षिक प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेकी थिइन।