August 17, 2017

बाढी पीडितकाे उद्दार र राहतमा लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाण्डौ, २९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बाढी प्रभावित क्षेत्रमा गएर राहत तथा उद्धारमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

प्रचण्डले आइतबार प्रेस विज्ञप्तिमार्फत प्राकृतिक विपद्को अवस्थामा उद्धार र राहतका लागि तत्काल जुट्न निर्देशन दिएका हुन् । चार दिनदेखिको अविरल वर्षाका कारण देशभर जनधनको क्षति भएको भन्दै सुरक्षित स्थानमा उद्धार गर्न र राहतको प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

उनले सरकारमा सहभागी भएका पार्टीका मन्त्रीलाई पनि नागरिकको उद्धार र राहत वितरणमा सक्रियताका साथ लाग्न र परिचालित हुन आग्रह गरेका छन् ।

यस्तै अनेरास्ववियु (क्रान्तिकारी)ले पनि बाढी तथा पहिरो पीडितको राहत तथा उद्धारमा खट्न नेता तथा कार्यकर्तालाई आग्रह गरिसकिएको अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए।