प्याजको मूल्य तेब्बर बढ्यो, यस्तो छ मूल्य वृद्धिको कारण

काठमाण्डौ, २९ साउन । बजारमा प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ पुगेको छ ।

अफ सिजनका कारण भारतमा भएको प्याजको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि परेको व्यवसायीको भनाइ छ । नेपालमा खपत हुने करिब ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ ।

उपत्यकामा अहिले थोकमा प्याजको मूल्य प्रतिकिलो ५५ र तराईमा ६० रुपैयाँ छ । मूल्यवृद्धिका कारण प्याजको खुद्रा मूल्य भने प्रतिकिलो ८० देखि ८५ रुपैयाँसम्म रहेको व्यवसायीको भनाइ छ । मूल्यवृद्धिअघि उपत्यकामा प्याजको थोक मूल्य प्रतिकिलो २३ देखि २५ रुपैयाँ थियो ।

भारतमा उत्पादित प्याज अविरल वर्षा र बाढीका कारण नष्ट हुँदा माग र आपूर्तिबीच तालमेल मिलेको छैन । यसले मूल्य अकासिएको उनको भनाइ छ । ‘वर्षापछि आएको बाढी र डुबानका कारण प्याजको भण्डार पनि प्रभावित भएकाले भारतमै मूल्य बढेको छ’, सिलवालले भने, ‘भारतमा मूल्य बढ्दा नेपालमा त्यसको प्रभाव पर्नु स्वाभाविक हो ।

’भारतमा अझै केही दिन बाढीको समस्या यथावत् रहे प्याजको मूल्य प्रतिकिलो सय रुपैयाँ नाघ्न सक्ने प्याज आयातकर्ता अर्जुन सिलवालले बताए । डेढ महिनाअघि भारतीय किसानले सरकारलाई प्रतिकिलो आठ रुपैयाँमा प्याज बेचेका थिए ।

भारतमा ठूलो परिमाणमा प्याज उत्पादन भएपछि मूल्य अभावमा सरकारले नै किसानबाट प्याज खरिद गरिदिएको थियो । यसरी खरिद भएको प्याज सरकारले पाँच रुपैयाँ प्रतिकिलोमा व्यवसायीलाई बिक्री गरेको थियो ।

उक्त प्याज व्यवसायीले डेढ साताअघिसम्म प्रतिकिलो भारतीय रुपैयाँ १८ मा बिक्री गर्दै आएका थिए । तर, भण्डारमा राखिएको प्याज पानीले नष्ट भएपछि थोकमै एक सातायता प्रतिकिलो भारु ३० मा बिक्री हुँदै आएको छ । याे खबर अन्नपूर्ण पोस्टमा छ ।