August 17, 2017

तराईका ८० प्रतिशत भूभाग डुबानमा, साेमबार बेलुकीसम्मै भारी वर्षा हुने

काठमाण्डौ,२९ साउन । शुक्रबार रातिदेखि शनिबार दिनभर परेको भीषण वर्षापछिको डुबान र बाढीपहिरोले घर भत्किँदा ठूलो भौतिक र मानवीय क्षति भएको छ ।

शनिबार रातिसम्म ३३ जनाको मृत्यु भएको खबर गृह मन्त्रालयले पुष्टि गरेको छ । बाढी प्रभावित तराई र पहिरो प्रभावित पहाडका जिल्ला–जिल्लाबाट सूचनाहरू संकलन भइरहेकाले मृतकको संख्या बढ्न सक्ने गृहप्रवक्ता दीपक काफ्लेले बताए ।

सिमरामा २१७.२ मिलिमिटर, नेपालगञ्जमा १६९.३ मिलिमिटर, दाङमा १६७.४ मिलिमिटर जनकपुरमा १३७.६ मिलिमिटर, भैरहवामा ३९.६ मिलिमिटर र काठमाडौं ३०.८ मिलिमिटर वर्षा भयाे । तराई क्षेत्रमा आइतबार रातिसम्म पनि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको अनुमान छ ।

बंगालको खाडीबाट ठूलो मात्रामा जलवाष्प आइरहेकाले भारी वर्षाको प्रक्षेपण गरिएको मौसमविद् सुजन सुवेदीले बताए । सप्तकोसी नदीमा पानीको बहाव खतराको संकेतभन्दा माथिबाट बगिरहेको छ । परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय राजदूतलाई काठमाडौंमा र दिल्लीस्थित दूतावासले भारतीय विदेश मन्त्रालयमा फोन गरेर सबै ढोका खोलिदिन आग्रह गरेका थिए ।

तर, शनिबार राति अबेरसम्म पनि ५६ मध्ये ३७ ढोका खोलिएको छ । तराईको ८०%  भूमि डुबानमा गृह मन्त्रालयका अनुसार तराईको ८० प्रतिशत भाग डुबानमा परेको छ । र, मुख्यगरी झापा, मोरङ, सुनसरी, बारा, सर्लाही, दाङ र बर्दियामा मानवीय क्षति भएको छ । त्यस्तै, पहाडी क्षेत्रका पाल्पा, सिन्धुली र पाँचथरमा पनि पहिरोले सर्वसाधारणको ज्यान गएको छ ।

हजारौँ परिवार विस्थापित भए पनि गृह मन्त्रालयले समेत यकिन संख्या निकाल्न सकेको छैन । सयौँ अहिले पनि सम्पर्कबाहिर छन् । बाढीले क्षति गरेको क्षेत्र बिर्तामोडमा चार हजार, विराटनगरमा चार हजार, लहानमा ३० हजार, वीरगन्जमा २० हजार क्विन्टल चामल मौज्दात रहेको खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए ।

देशभर डेढ लाख क्विन्टल चामल मौज्दात रहेकाले सरकारले भनेको ठाउँमा पुर्याउन संस्थान तत्पर रहेको उनको भनाइ छ । शनिबार साँझ बालुवाटारमा गृहमन्त्री, रक्षामन्त्री, प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्रका महानिरीक्षक, अनुसन्धानका प्रमुखसँगको बैठकमा प्रधानमन्त्रीले तत्काल उद्धारमा सम्पूर्ण शक्ति खटाउन निर्देशन दिए ।

उद्धार र राहतका लागि हेलिकोप्टर तयार राखिए पनि मौसमका कारण परिचालन गर्न नसकिएको गृहमन्त्रीको भनाइ थियो । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।