October 24, 2017

सिन्धुलीमा पहिरोले घर पुरिदा एकै परिवारका ४ जनाको मृत्यु

काठमाण्डौ,२८ साउन । सिन्धुलीको कमलामाई नगरपालिका–६ गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका चारजनाको मृत्यु भएकाे छ ।

पहिरोले मृत्यु हुनेमा दुर्गाकुमारी खड्का (२७ वर्ष) ,शोभा खड्का ( १५ वर्ष), अनिस खड्का वर्ष ( १० बर्ष) र मनिष खड्का (वर्ष ८) का रहेका छन् । शनिबार बिहान करिब २ बजेको समयमा झरेको पहिरोले सुतिरहेको अवस्थामा ४ जनालाई पुरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयको आवासीय भवन नजिकैबाट झरेको पहिराले घर पुरिएको थियो । राति २ बजेतिर पहिराले घर भत्काएपछि आफू भागेर बाँच्न सफल भएको तर राति हारगुहार गर्दा उद्धार गर्न ढिलो हुँदा परिवारका सबै सदस्यको मृत्यु भएको उदयबहादुर खड्काले बताए ।

लगातार दुई दिनदेखि परिरेहको पानी र जिल्ला प्रहरी कार्यालयले नयाँ भवन निर्माण गर्दा थुपारेको माटोले पहिरोको रुप लिँदा उक्त घटना भएको हो ।  दैनिक ज्याला मजदुरी गर्ने खड्काको परिवार नेपाल पत्रकार महासंघ सिन्धुलीको जग्गामा घर बनाएर बस्दै अाइरहेकाे थियो ।