August 21, 2017

चिकित्सा शिक्षा विधेयक पारित, सरकारी मेडिकल कलेजमा ५० प्रतिशत सिट अनिवार्य

काठमाण्डाै, २७ साउन । चिकित्सा शिक्षा विधेयक संसदको महिला बालबालिका तथा समाजकल्याण समितिबाट शुक्रबार पारित भएको छ ।

सिंहदरबारमा शुक्रबार दिउँसो बसेको समितिको बैठकले चिकित्सा शिक्षा सुधारका लागि माथेमा कार्यदलले दिएको सुझाव अनुसार विधेयक पारित गरेको समिति सभापति रञ्जु झाले जानकारी दिइन् । बिहीबार जबर्जस्ती पारित गर्न खोज्दा विवादित भएपछि शुक्रबार सो विधेयक संशोधनसहित पारित भएको हो ।

बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल समितिबाट विधेयक पारित भएसँगै नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य जनशक्ति उत्पादनमा नयाँ अध्यायको प्रारम्भ भएको बताए । उनले चिकित्सा क्षेत्रको मुल समस्यालाई विधेयकले सम्बोधन गरेको दाबी गरे ।

विधेयकअनुसार सरकारी मेडिकल कलेजमा ५० प्रतिशत सिट अनिवार्य रुपमा निःशुल्क हुनेछ । विधेयकमा व्यवस्था गरिएको चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षाको शुल्क तय गर्नेछ ।

आयोगले तोकेको शुल्क तलमाथि गर्ने मेडिकल कलेजलाई खारेज गर्नेसम्मको अधिकार आयोगलाई हुनेछ । विधेयकमा तीन वर्ष अवधि र मापदण्ड पुगेका निजी मेडिकल कलेजले सम्बन्ध पाउने र काठमाण्डौंमा १० वर्षसम्म कुनै पनि मेडिकल खोल्न नपाइने व्यवस्था गरिएको छ ।