सप्तरीमा बाढीले वेपत्ता भएका यादवको खोजिकाे माग गर्दै चक्काजाम

दिनेश शर्मा / राजविराज, २७ साउन । खाँडो खोलाको बाढीमा  वेपत्ता भएका डोमी यादवको खोजविन माग गर्दै शुक्रवार सप्तरीमा चक्काजाम गरिएको छ ।

राजविराज १५ देउरी भरुवाका निवासी यादवका परिवार र र आफन्तले हनुमाननगर–राजविराज सडकखण्डमा  १ घण्टा चक्का जाम गरेका हुन् । वेपत्ताको खोजविन गर्नु पर्ने, बाढी प्रभावितहरुलाई राहत तथा क्षतीपुर्ति दिनुपर्ने र नदि नियन्त्रणको दिर्घकालिन उपाय गर्नु पर्ने उनीहरुको माग छ ।

बिहिबार खाँडो खोलामा आएको बाढीले बाँध कटान गर्न थालेपछि नियन्त्रण गर्न गएका ५५ वर्षिय डोमी यादवलाई खोलाले  बगाएपछि यादव वेपत्ता थिए ।

२४ घण्टा वितिसक्दा पनि यादव फेला नपरेपछि आफन्त र स्थानीयबासीहरु आक्रोशित भएका हुन् । गोताखोर बाेलाएर यादवको खोजी तिव्र पारिएको सप्तरी प्रहरीले जनाएको छ । यस्तै दुई दिनदेखिको वर्षाका कारण सप्तरीका विभिन्न खोलाहरुमा आएको बाढीका कारण जिल्लाका आधा दर्जन गाविस डुवानमा छन् ।

खाँडो र महुली नदीले वढि विनास गरेको छ । राजविराज १५ स्थित देउरी भरुवामा खाँडो खोलाको बाँध भत्किएको छ भने तिरहुँत गाउँपालिका–६ स्थित भेडियामा महुली खोलाको बाँध भत्किएर वाढि बस्तीमा पसेको छ ।

राजविराज १६ का १० घर परिवार विस्थापीत भई स्थानीय विद्यालयमा शरण लिएर बसेका छन् । बाढिले जिल्लाको तिलाठी, डुम्री शिवथान, देउरी भरुवा, मैनाकडेरी, सकरपुरा, महदेवा, भेडिया, पोर्ताहा, रमपुरा मलहनियाँ, धवापुरलगायतका आधा दर्जनभन्दा बढि बस्तीका करिव ३ सय घर डुवानमा परेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बाँध पुनःनिर्माणको काम गरिरहेको छ ।