October 19, 2017

निजी विद्यालयहरुले मानोमानी शुल्क बढाएको विरोधमा मुलुकभरका शैक्षिक विभागमा तालाबन्दी

काठमाण्डौ, १५ वैशाख । निजी विद्यालयहरुले कक्षा १ देखि १० सम्म मनोमानी शुल्क बढाएको विरोधमा संयुक्त विद्यार्थी संगठनहरुले शुक्रबार त्यसको विरोधमा मुलुकभरका जिल्ला शिक्षा कार्यालय र शिक्षा विभागहरुमा तालाबन्दी गरेका छन् ।

शुल्क बढाएको विषयमा सरकारको ध्यानाकार्षण गराए पनि कुनै सुनुवाई नभएको भन्दै संगठनले दोश्रो चरणको आन्दोलन घोषणा गरेका थिए । आन्दोलनका कार्यक्रम अन्तर्गत नै तालाबन्दी गरिएको अनेरास्ववियुका केन्द्रिय कोषाध्यक्ष झपिन्द्र खत्रिले जानकारी दिए ।

त्यस्तै १७ गते शिक्षामन्त्री लगायतका सरकारी अधिकारीहरुको कार्यक्रम बहिष्कार गर्ने, १८ गते शिक्षा मन्त्रालय लगायत शिक्षा मन्त्रालय अन्तर्गतका सरकारी गाडी गुड्नबाट बञ्चित गर्ने विद्यार्थी संगठनहरुले जनाएका छन् । खत्रिले सामान्य जनताका बालबालिकाहरुले पढ्न पाउने वातावरण निर्माण गर्न राज्यको ध्यानाकर्षण पनि गराएको जानकारी दिए ।

आफ्ना माग पुरा नभए यो भन्दा पनि कडा आन्दोलनका कार्यक्रमको घोषणा गर्ने विद्यार्थी संगठनको भनाई छ ।