August 17, 2017

सप्तरीका बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पार्न गृहमन्त्री शर्माको निर्देशन

काठमाण्डाै, २७ साउन । सप्तरीमा अविरल वर्षाका कारण खाँडो नदीकाे बाढी गाउँमा पस्न थालेपछि उद्धार कार्य तीव्र बनाउन गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् ।

उनले शुक्रबार बिहान ईटहरी सडक डिभिजनबाट २ वटा डोजर त्यसतर्फ उद्धारका लागि पठाउन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।

बाढीका कारण खाँडो नदीले बहाव परिवर्तन गरेपछि त्यहाँ रहेको बाँध भत्किने अधिक संभावना भएकोले, चेन डोजरमार्फत नदीलाई पुरानै धारमा फर्काउनका लागिएको छ ।

डिएसपी यादवराज उप्रेती र नेपाली सेनाका मेजर दिपेश राना मगरको नेतृत्वमा प्रहरी, सेना र सशस्त्र प्रहरीका जवानहरु उद्धार कार्यमा खटिएका छन् ।

उक्त बाढीका कारण एक जनाको मृत्यु भइसकेको छ । मृतकको अहिलेसम्म शव नभेटिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी गराएका छन् ।