प्रदेशकाे चुनावलाई वाईपास गरेर संसदकाे चुनाव गर्ने षडयन्त्र हुदै : उपेन्द्र यादव

दिनेश शर्मा / राजविराज, २७ साउन । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशकाे चुनावलाई वाईपास गरेर संसदकाे चुनाव गर्नु पर्ने कांग्रेसका नेताहरुकाे अभिव्यक्ति अापत्तिजनक भएको बताएका छन ।

तेश्रो चरणको स्थानीय तह निर्वाचनको प्रचार अभियानमा सप्तरी आईपुगेका यादवले शुक्रवार सप्तरी सदरमुकाम राजविराजमा अायोजित पत्रकार सम्मेलनमा  उनले प्रदेशको निर्वाचन नगरी एकै पटक संसदको निर्वाचन गर्ने अभिव्यक्ति सुरु भएको भन्दै आक्रोश ब्यक्त गरे ।

कुनै पनि कुरा विधि र प्रकृया अनुसार गर्नु नै उपर्युक्त हुने भन्दै उनले ‘वाँदरजस्तो एउटा रुखवाट अर्को रुख, अर्को रुखवाट अर्को रुख’ मा हाम नफाल्न सरकारलाई सुझाए ।

संघियता सिध्याउने षडयन्त्र अनुसार प्रदेशलाई वाईपास गरी संसदको चुनाव गर्ने अभिब्यक्ति सुरु भएको दावी गर्दै यादवले स्थानीय, त्यसपछि संसदको चुनाव गर्ने अनि प्रदेशको चुनाव कहिलै नगर्ने गरी कांग्रेस जस्तो जिम्मेवार पार्टीले चलखेल गर्नु दुर्भाग्यपुर्ण भएको बताए ।

‘एमाले त संघियता विरोधी नै हो, कांग्रेस जस्तो जिम्मेवार पार्टीले यसरी अघि बढ्नु दुर्भाग्यपुर्ण हो’–उनले भने । संविधान संशोधन अहिलेको प्रमुख मुद्दा भएको जिकिर गर्दै उनले सरकार गठनकाक्रममा भएका तीन वुँदे समझदारी पुरा गर्न पनि माग गरे ।

संविधान संशोधनकै नाममा सरकारले स्थानीय निकायको चुनावलाई तीन चरणमा पुर्याएको भन्दै उनले तीन बुँदे समझदारी र चुनाव सार्नुको कारणलाई पुष्टि गर्न पनि संविधान संशोधनको विधेयक परित गर्नु पर्ने तर्क गरे ।

यादवले सप्तरीमा बाढीका कारण भईरहेको विनासप्रति सरकारको ध्यानाकर्षण गराए । बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री घुमेर मात्र नहुने भन्दै उनले राहत, पुनर्वास र किसानलाई क्षतीपुर्ति दिन माग गरे ।