अनशनका १३६ दिन, ९ सम्झौता, कार्यान्वयन शून्य

काठमाण्डौ, २७  साउन । माग एउटै– ‘गुणस्तरीय चिकित्सा शिक्षा र सेवा आम नेपालीको पहुँचमा पुगोस् ।’ तर त्यत्तिका लागि प्रा.डा. गोविन्द केसी ११ पटक गरी एक सय ३६ दिन आमरण अनसन बसिसकेका छन् ।

२०६९ असार २१ गते बाबुराम भट्टराईनेतृत्वको सरकारका पालामा सुरु भएको उनको अनशन खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल हुँदै शेरबहादुर देउवासम्म आइपुगेको छ । प्रमुख तीन दलदेखि न्यायालयका प्रमुखका हरेक सरकारका पालामा सम्झौता भए तर चाँडै उल्लंघन पनि गरिए ।

पछिल्लो ११औं अनशन शुक्रबार १९ दिन पुगेको छ । माग पूरा हुने वातावरण अझै बनेको छैन । अनशनका श्रृंखलासँगै यसका दिनहरूसमेत बढ्दै गएका छन्। बुद्धिजीवीहरूले सरकार ‘थेत्तरो’ हुँदै गएको र त्यसको परिणामस्वरूप केसीको जीवन जोखिममा पुगेको बताउँछन् ।

अघिल्लो पटकको सत्याग्रहमा उनी २२ दिन अनशन बसेका थिए । डा.केसीको पहिलोदेखि चौथोसम्मको अनशनमा प्रमुख माग वरिष्ठताका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्ति गरियो । त्यसताका संस्थानमा राजनीतिक भागबण्डाका आधारमा डिनलगायत पदाधिकारी नियुक्त हुन्थे ।

उनको आन्दोलनकै कारण संस्थानमा डिन नियुक्ति वरिष्ठता र स्वच्छताका आधारमा गर्न थालियो । बिच–बिचमा उल्लंघन गरिँदा केसीको त्यो माग अझै कायमै छ । याे खबर कान्तिपुर दैनिकमा छ ।