August 20, 2017

मन्त्रीले भने स्वाइन फ्लु, विभागको दाबी : कडाखालको मौसमी रुघाखोकी

काठमाण्डौ, २६ साउन । उपत्यका, स्याङ्जा र झापालगायत मुलुकका विभिन्न ठाउँमा फैलिएको ‘कडा खालको मौसमी रुघाखोकी’का कारण चार महिनामा १० जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले बुधबारको संसद् बैठकमा यो रोग ‘स्वाइनफ्लु’ भएको बताए । तर स्वास्थ्य मन्त्रालयमातहतको स्वास्थ्य सेवा विभाग र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा भने यो रोग ‘स्वाइन फ्लु’ नभई कडाखालको मौसमी रुघाखोकी अर्थात् ‘इन्फ्लुएन्जा ए एच् वान एन् वान’ भएको बताउँछ ।

कडाखालको रुघाखोकीका लागी विभिन्न अस्पतालमा उपचार गराउने क्रममा ६ बिरामीको मृत्यु भएपछि गत शुक्रबार स्वास्थ्य सेवा विभाग र इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टेकुमा पत्रकार सम्मेलन गरेर स्वाइन फ्लु नभएको बताएको थियो ।

‘यो स्वाइन फ्लु होइन इन्फ्लुएन्जा ए एच् वान एन् वान हो’, विभागका महानिर्देशक डा. राजेन्द्रप्रसाद पन्तले भने। ‘स्वाइन फ्लु सुँगुर वा बंगुरबा६ मानिसमा सर्छ, यो त मानिसबाट मानिसमा सरिराखेको छ, त्यसैले यो कडा खालको मौसमी रुघाखोकी इन्फ्लुएन्जा हो, स्वाइन फ्लु होइन’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले भने ।

बुधबारको संसद् बैठकमा भने मन्त्री पोखरेलले हालसम्म ३ सय ८१ जनामा स्वाइन फ्लुको संक्रमण देखिएको र १० जनाको मृत्यु भएको जानकारी दिए।  विभागीय मन्त्री र मातहतको विभागका भनाइ विपरीत भएपछि सर्वसाधारण भने अन्योलमा छन् । याे खबर राजधानी दैनिकमा छ ।