निगम र व्यवसायीको मिलेमतोमा इन्धन अभाव गराउने प्रपञ्च सुरु

काठमाण्डौ,२६ साउन । पेट्रोलियम व्यवसायी र आयल निगमको मिलेमतोमा अत्यावश्यकीय वस्तु इन्धन अभाव गराउने प्रपञ्च फेरि सुरु भएको छ ।

निगमले इन्धन क्षतिको विषयमा तयार पारेको प्रतिवेदन कार्यान्वयन गरिरहेको छैन भने व्यवसायीले सिधै ढुवानी बन्द गर्नेगरी विरोधका कार्यक्रम सार्वजनिक गरिरहेका छन् । इन्धन ढुवानी क्षेत्रलाई व्यवस्थित बनाउन आयल निगम सञ्चालक समितिको बैठकले कार्तिक २५ गते अध्ययन प्रतिवेदन बनाउने निर्णय गरेको थियो ।

निर्णयअनुसार गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको संयोजकत्वमा आपूर्ति मन्त्रालयका एक र निगमका दुई अधिकारी रहनेगरी उपसमिति गठन भएको थियो । मंसिर १५ भित्र तयार पार्ने कार्यभार भए पनि उपसमितिले आठ महिना लगाएर प्रतिवेदन आपूर्ति मन्त्रालयमा पेश गर्यो ।

प्रतिवेदनमा थानकोट डिपोबाट पम्पसम्म ढुवानी गर्दा ४ हजार लिटर पेट्रोलमा ५० लिटर र डिजेलमा ३६ लिटर क्षति हुने उल्लेख थियो । यसमा असन्तुष्ट व्यवसायीहरूले बहाना बनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरे ।

व्यवसायीले एक दिन ढुवानी ठप्प पारेलगत्तै सञ्चालक समितिले निगमका निर्देशक दीपक बरालको संयोजकत्वमा साउन ३ गते पुनः अर्को कमिटी गठन गरेको थियो । कमिटीलाई १८ गतेभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिए पनि साउन २४ गते आपूर्ति मन्त्रालयमा पेश गरेको छ ।

प्रतिवेदन सार्वजनिक गर्न ढिलो गरेको भन्दै माग पूरा गराउन उनीहरूले इन्धन बिक्री नगर्ने धम्की दिएका छन् । याे खबर कान्तिपुर दैनिकमा छ ।