August 20, 2017

राज रंगशाला स्तरोन्नतीमा आर्थिक अनियमितता, स्थानीयद्वारा छानवीनकाे माग

दिनेश शर्मा/ राजविराज, २४ साउन । सप्तरीकाे राज रंगशालाको खेल मैदान स्तरोन्नतीमा आर्थिक अनियमितता भएको भन्दै स्थानीयले छानवीनकाे माग गरेका छन् ।

जिल्ला खेलकुद विकास समिति र ठेकेदार कम्पनीको मिलेमतोमा गुणस्तरहिन काम गरी आर्थिक अनियमितता गरिएको स्थानीयले आरोप लगाएका छन् । कुल २५ लाख बजेटमा खेलकुद मैदान स्तरोन्नतीको ठेक्का उदय निर्माण सेवाले पाएको छ ।

१ सय २० मिटर लम्वाई, १सय ७ मिटर चौडाई र ३० सेण्टिमिटर उचाईमा माटो भर्ने र रोलिङ्ग गरी खेल मैदान सम्याएर समतल बनाउनु पर्ने ठेक्कामा कवोल गरिएको छ । तर, ठेक्काको सर्तअनुसार काम नहुँदा अहिले पनि खेल मैदानमा कुनै परिवर्तन नदेखिएको स्थानीयवासी महेश्वर भारतीले बताए ।

मर्मत सम्भारका नाममा भएको आर्थिक अनियमितताको वास्तबिक छानवीन गरी दोषि माथि कडा कारवाही गर्नु पर्ने उनको माग छ । समयमा काम गर्ने र पुरा हुन बांकी काममा गुणस्तर कायम गर्ने विषयमा कार्यालयले विशेष ध्यान दिनुपर्ने उनको जोड छ ।

यता, खेलकुद विकास समितिका प्रमुख महेन्द्र यादवले स्टिमेट अनुसार काम नभए भुक्तानी रोक्ने बताएका छन् । एक दशकअघिसम्म राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता हुँदै आएको यो रंगशाला ४ दशक बित्नलाग्दा पनि मर्मत सम्भार नभएपछि जिर्ण बनेको छ ।

यसैगरी सम्बन्धित निकायको मौनताकै कारण जीर्ण अवस्थामा पुगेको प्याराफिटमुनीको १५–२० वटा कोठाहरु स्थानीय विपन्न समुदायका व्यक्तिहरु प्रयोग गरिरहेका छन् । यसले दुर्घटना हुनको जोखिम बढाएपनि अतिक्रमण रोक्ने विषयमा कसैले चासो दिएको छैन ।