राजधानीभित्रकै अस्पतालले म्याद गुज्रेको औषधि खुवायो, बालकको अवस्था गम्भीर

काठमाण्डौ, २४ साउन । राजधानीकै एक अस्पतालभित्र रहेको फार्मेसीले म्याद गुज्रेको औषधि बिक्री गर्दा र चिकित्सकले पनि म्यादै नहेरी प्रयोग गरिदिँदा बिरामी बालकको अवस्था गम्भीर बन्न पुगेको छ ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजभित्र सञ्चालित फार्मेसीले दुई महिनाअघि नै म्याद गुज्रिसकेको ‘ट्याक्सिन’ नामक औषधि बेचेको हो । आइतबार बेलुकी नौ बजे फार्मेसीले दिएको औषधिको म्याद नहेरी चिकित्सकले समेत बिरामी बालकमाथि प्रयोग गरे ।

झापाका ५ वर्षीय आरुष सुवेदीलाई म्याद गुज्रेको औषधि चलाउँदा उनको अवस्था गम्भीर बनेको हो ।  बालककी आमा सुनिता सुवेदीका अनुसार आरुष एक सातादेखि मेडिकल कलेजमै भर्ना भई उपचाररत छन् ।

‘डाक्टरले औषधि लेखिदिनेबित्तिकै किन्न गएँ तर फार्मेसीले म्याद गुज्रिएको औषधि दिएछ,’ सुवेदीले भनिन्, ‘तनावमा हुने भएकाले बिरामीका आफन्तको ध्यान म्याद हेर्नेतर्फ पुग्दैन, मेरो पनि पुगेन ।

तर डाक्टरले म्यादै नहेरि चलाइदिए ।’ बालकको अवस्था गम्भीर भएपछि आक्रोशित आफन्तले सोमबार अस्पतालमा तोडफोड गरेका छन् । याे खबर कान्तिपुर दैनिकमा छ ।