October 21, 2017

उत्तर कोरियामाथि अहिलेसम्मकै कठोर प्रतिबन्ध

काठमाण्डाै, २२ साउन । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएको छ ।

उत्तर कोरियाले पछिल्लो समय गरेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षणपछि बसेको सुरक्षा परिषद बैठकमा उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा सहमति जुटेको हो ।

नयाँ प्रतिबन्ध अनुसार उत्तर कोरियाका विशेषज्ञमाथि प्रतिबन्ध लागेको छ भने उत्तर कोरियामा गरिँदै आएको लगानीमा पनि कटौती हुनेछ ।

उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव सुरक्षा परिषद बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।

उत्तर कोरियामाथि लागेको नयाँ प्रतिबन्ध कुनै पनि देशमाथि लागेको अहिलेसम्मकै सबैभन्दा कठोर रहेको संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले बताइन् ।

सबैभन्दा महत्वपूर्ण कुरा यी प्रतिबन्धमा उत्तर कोरियाको व्यापार र आम्दानीको प्रमुख स्रोत रहेको चीनको पनि समर्थन रहेको छ ।

उत्तर कोरियाले गएको जुलाईमा दुईवटा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियाले ती मिसाइलको सफल परीक्षणपछि अब अमेरिकाको सबै मुख्य क्षेत्रमा आफूले मार हान्न सक्ने दाबी गरेको थियो ।