August 20, 2017

९ अर्बका दूरसञ्चार उपकरण भित्रिए, एनसेल अगाडि

काठमाण्डौ, २१ साउन । नेपालमा सञ्चालित विभिन्न दूरसञ्चार कम्पनीले गत वर्ष नौ अर्ब ४० करोड रुपैयाँका उपकरण खरिद गरेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले दिएको तथ्यांकअनुसार नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकसहितका इन्टरनेट सेवाप्रदायकले आव २०७३/७४ मा मात्रै नेटवर्क विस्तार, प्रविधि तथा सेवाको गुुणस्तर सुुधार गर्न उक्त रकमबराबरका उपकरण खरिदका लागि अनुमति लिएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

उनले प्राधिकरणले सिफारिस नगरेसम्म टेलिकम सेवाप्रदायकले आवश्यक उपकरण ल्याउन नपाउने उल्लेख गरे। टेलिकम तथा इन्टरनेट सेवाप्रदायकले ल्याउने यस्ता उपकरण यो क्षेत्रमा गरिएको लगानी भएको पनि उनले जानकारी दिए । प्राधिकरणको सिफारिसपछि सेवाप्रदायकले उपकरण खरिद गरी सेवा तथा गुणस्तरमा सुधार गर्ने गरेको उनले उल्लेख गरे।

गत आवमा सबैभन्दा बढी रकमको उपकरण भित्र्याउनेमा एनसेल अग्र स्थानमा छ। एनसेलले गत आवमा चार अर्बको उपकरण आयात गरेको बताइएको छ। नेपाल टेलिकमले पनि तीन अर्बको दूरसञ्चार उपकरण आयात गरेको छ ।

हाल दूरसञ्चार सेवामा तेस्रो प्रतिस्पर्धीको रूपमा आउन चाहेको स्मार्ट टेलिकमले दुई अर्ब आठ करोड रुपैयाँका सामान आयात गरेको छ । यो कम्पनीले चालू आवमा पनि दुई अर्बको उपकरण आयात गर्न सिफारिस माग गरेको प्राधिकरणले जानकारी दिएको छ । याे खबर अन्नपूर्ण पोस्टमा छ ।