September 23, 2017

हर्न निषेध अभियान प्रभावकारी बनाउन काठमाण्डौमा मोटरसाईकल र्‍याली

काठमाण्डौ, १४ वैशाख । काठमाण्डौ उपत्यकामा हर्न निषेध अभियानलाई प्रभावकारी बनाउन बिहीबार मोटरसाईकल र्‍याली निकालिएको छ ।

काठमाण्डौ महानगरपालिकाको आयोजनामा काठमाण्डौको प्रदर्शनीमार्गबाट सुरु भएको मोटरसाईकल र्‍यालीले उपत्यकाका विभिन्न स्थानको परिक्रमा गरेको थियो । र्‍यालीमा सहभागी मोटरसाईकल चालकहरुले नो हर्न संकेतको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

काठमाण्डौ उपत्यकामा हर्न निषेध अभियान प्रभावकारी हुँदै गएको र यसलाई जनचेतनामार्फत थप प्रभावकारी बनाउन र्‍यालीको आयोजना गरेको महानगरपालिकाले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाले अहिलेसम्म हर्न बजाउने २५ सयलाई कारबाही गरिसकेको बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि हर्न नबजनाउने अभियान जारी राखेको उनको भनाई छ ।

ध्वनी प्रदूषण अध्याधिक बढेको भन्दै वैशाख १ गतेदेखि काठमाण्डौ उपत्यकामा हर्न निषेध गरिएको हो ।