August 19, 2017

स्थानीय तह संख्या विस्तार र मापदण्ड निर्धारण गर्न बसेको बैठकमा प्रतिपक्षी दल पनि सहभागी

काठमाण्डौ, १४ वैशाख । स्थानीय तहको संख्या थप्ने गरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको परिपत्रको विरोधमा स‌ंसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले उपप्रधानमन्त्री कमल थापा नेतृत्वको कार्यदल छलफलमा सहभागिता जनाएको छ ।

सिंहदरबारमा बसेको स्थानीय तह संख्या विस्तार र मापदण्ड निर्धारण गर्नका लागि बनेको कार्यदलको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दलले सहभागिता जनाएको हो । सत्तारुढ दलबाट थापासँगै रक्षामन्त्री बालकृष्ण खाँड र कानुनमन्त्री अजय शंकर नायक सहभागी रहेको छलफलमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट भानुभक्त ढकाल र अग्नि खरेल सहभागी थिए ।

बैठकमा राष्ट्रिय जनता दल र संघीय गठबन्धनका नेता पनि सहभागी भएका थिए । एमालेका भानुभक्त ढकालले दलहरुबीच देखिएको समस्या समाधानका लागि छलफलमा सहभागी भएको प्रतिक्रिया दिए । त्यस्तै राष्ट्रिय जनता दलका नेता लक्ष्मण लाल कर्णले स्थानीय तहको संख्या थप्ने विषयमा प्रमुख प्रतिपक्षी दलको सहभागिताले सकारात्मक मोड लिएको बताए ।

एमालेको चर्को विरोधका कारण ११ जिल्लामा स्थानीय विकास मन्त्रालयले जारी गरेको परिपत्र हिजोमात्रै सरकारले स्थगन गरेको थियो । बिहीबार बसेको कार्यदलको बैठकले स्थानीय विकास सचिवको सचिवालयलाई स्थानीय तहको संख्या विस्तार र त्यसको मापदण्ड तयार गर्नका लागि भोलिसम्मका लागि समय दिएको छ ।