August 24, 2017

जनजागृति युवा क्लब सिमरालाई हराउँदै त्रिभुवन आर्मी फाइनलमा

राम कुशवाहा / वीरगञ्ज १४ वैशाख । वीरगञ्जमा जारी प्रथम विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा जनजागृति युवा क्लब सिमरालाई हराउँदै त्रिभुवन आर्मी कल्ब फाइनलमा प्रवेश गरेको छ ।

नारायणी रंगशालामा आज भएको खेलमा सिमरालाई ० का विरुद्ध ३ गोलले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । खेल सुरु भएको १० औं मिनेटमा आर्मीका जर्सी नम्बर ३० का खेलाडी जर्ज प्रिन्स कार्कीले गोल गरी टिमलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ३७ औं मिनेटमा पहिलो र ४० औं मिनेटमा दोस्रो गोल गरी जर्सि नम्बर १० का भरत खवासले आर्मीको जित सुनिश्चित गरेका हुन् ।

खेलमा म्यान अफ दि म्याच पनि २ गोल गरेका भरत खवास नै घोषित भए । उनलाई ५ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

राम कुशवाहा

अब त्रिभुवन आर्मीले फाइनलमा संकटा क्लबको सामना गर्नेछ । फाइनल खेल आगामी १६ गते अपराह्न ३ बजे सुरु हुने जिल्ला खेलकुद विकास समिति पर्साका कार्यवाहक अध्यक्ष निशान्त लामिछानेले जानकारी दिए ।

प्रतियोगितामा विजेता कल्बलाई ५ लाख नगद र उपविजेतालाई साढे २ लाख नगद सहित ट्रफि र प्रमाणपत्र वितरण गरिने अयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई सुजुकी १५० सि.सि.को मोटरसाइकल प्रदान गरिने छ ।