September 20, 2017

नेपाल आयल निगमकाे जग्गा खरिदमा ३४ करोड ८० लाख घोटाला

पकंज शर्मा, झापा १९ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारका लागि झापामा खरिद गरिएको जमिनमा ३४ करोड ८० लाख रुपैया घोटाला गरेकाे छ ।

नेपाल आयल निगम शाखा कार्यालय चाराआलीको जमिन खरिदमा न्युनतम मुल्य भन्दा दुई गुणा बढी रकम तिरेर निगमका कर्मचारीले ३४ करोड ८० लाख रुपैया घोटाला गरेका हुन । निगमले २३ विघा ३ कठठा १३ धुर जमिन ६२ करोड ६१ लख ८८ हजार ५ सयमा खरिद गरेको मालपोत कार्यालय झापाको मोठमा देखिन्छ ।

सो जग्गाको मुल्य त्यहाका चल्नचल्ती दररेट अनुसार प्रति कठठा ५ देखि ६ लाख रुपैया खेती योग्य जमिनको मुल्य रहेको स्थानीय बताउछन । स्थानीयले जनाएको दररेट हेर्न हो भने २७ करोड ८१ लाख पर्ने जमिन निगमले ३४ करोड ८० लाख ८८ हजार ५ सय रुपैया बढी तिरेको देखिन्छ ।

निगमले खरिद गरेको जमित खेती योग्य रहेको छ । खेती योग्य जमिनलाई निगमले प्रति कठठा १३ लाख ५१ हजार दरले खरिद गरेको जिल्ला मालपोत कार्यालयको मोठमा उल्लेख गरिएको छ । निगमका कर्मचारी र ठेक्का पारेका कम्पनीसंगको सेटिङ्गमा प्रति कठ्ठा साढे ६ लाख रुपैयाको दरले भष्ट्राचार गरेको देखिन्छ ।

नेपाल आयल निगमले –झापा साविक दुहागढी गाविस ३ (हाल मेचीनगर १३ ) मा पर्ने २३ विघा ३ कठठा १३ धुर जमिन आयल निगमले किनेको हो ।

जिल्ला मालपोत कार्यालय झापाको जग्गापास मोठ तथ्याक अनुसार १६ जना व्यक्तिले निगमलाई जमिन बिक्री गरेका छन् । २०७३ जेठ ३ र ४ गते जमिन निगमको नाममा पास भएको झापा मालपोत कार्यालय अधिकृत तथा सूचना अधिकारी दिपेन्द्र खत्री बताए ।

टेण्डर परेको कम्पनीको तर्फबाट काभ्रेपलाञ्चोक ४ बस्ने निरोजकुमार थपलियाले झापा मालपोतमा आएर आयल निगमले खरिद गरेको जग्गा पास गरेका हुन । त्यसबापत मालपोतमा लाभकर करिव १ करोड ७० लाख बढी रुपैया तिरेको छ, भने मालपोत राजश्व ३ करोड बढी रकम बुझाएको छ ।

मालपोतको जग्गा मुल्याकन निर्धारण पुस्तिका अनुसार हाल जग्गा खरिद गरेको सो जग्गाको सरकारी मुल्याकन प्रति कठ्ठा ५ लाख रुपैया तोकिएको छ । आयल निगमले झापाको चाराआलीस्थित शाखा कार्यालयको डिपो निर्माणका लागि २०७३ पुस ५ गते जग्गा खरिदका लागि टेण्डर आव्हान गरेका थिए ।

३५ दिने टेण्डरमा जारी गरिएको सूचना अनुसार झापा जिल्लाको नेपाल भारत सीमा काकरभिट्टा ०.० किमि बाट ५ किलोमिटर भन्दा बाहिर देखि चाराआली चोकसम्म र चाराआली चोकबाट उत्तर इलाम जाने राजमार्गको ३ किलोमिटर, दक्षिण भद्रपुर जाने राजमार्गको ३ किलोमिटर र पश्चिम विर्तामोड जाने राजगमार्गको ३ किलोमिटर सम्म राजमार्गमा सटेको वा उल्लेखित राजमार्गहरुबाट दूई किलोमिटर भित्र पर्ने क्षेत्रमा पेटोलियम उर्जाबाट सञ्चालन हुने उद्योग, रोलिङ्गमिल, बाक्लो बस्ती, सार्वजनिक पाटीपौवा आदि नजिकै नभएको दायाबाया भारी मालबाहक सवारीसाधान चल्न सक्ने सार्वजनिक सहायक मार्ग भएको वा निगमको लागि मात्र निजी स्वामित्वमा आउने दोहोरो भारी मालबाहक सवारी साधन चल्न सक्ने निजी बाटोको प्रस्ताव गरिएको चौहादी मिलेको करिब २० विघा जमिन चाहियो भनेर उल्लेख गरिएको थियो ।

निगमले टेण्डर सार्वजनिक गरेपछि चार जनाले टेण्डर हालेको स्थानीयको दावी छ । तर, यस बिषयमा चाराआली डिपोका प्रमुख सनम कार्की बोल्न चाहेनन । टेण्डर परेपछि निगमका माथिल्लो निकायका कर्मचारीले जमिनमा आर्थिक चलखेल सुरु गरिसकेका थिए ।टेण्डर आव्हान भएका बेला चाराआली डिपोका प्रमुख बासु भण्डारी कार्यरत रहेका थिए ।

भण्डारीको पालामा जमिन हेर्नै काम समेत भएको थियो । तर, भण्डारीले निगमको कुरा नमानेपछि उनलाई त्यहाबाट सरुवा गरिएको थियो । भण्डारीलाई हटाएर विराटनगरमा कार्यरत रहेका सनम कार्कीलाई चाराआली डिपो प्रमुखको जिम्मेवारी चैतमा दिएको हो । यता निगमलाई जमिन बेच्नलाई नेपाली सेनाका जर्नेल दिपककुमार कार्की र उनको परिवारका अरु नातेदारहरु, विष्णु कार्की भट्टराई, भूपेन्द्र कार्की, राजु कार्की, महेन्द्र कार्की, गोपाल तामाङ्ग लगायतका गिरोह लागि परे ।

जमिनको दररेट निगमका कर्मचारीसंग मिलाउने काम जर्नेल कार्कीले गरेका हुन् । जर्नेल कार्कीले निगमलाई जमिन बेचेका हुन् । जर्नेल कार्की र नेपाल आयाल निगमको प्रबन्धक पुष्कर कार्की नातेदार पर्ने बुझिएको छ । चाराआली डिपोमा ल्याएका सनम कार्की पनि दुवै जनाको नातेदारमा पर्छ, स्थानीय स्रोतको दावी छ ।

नातेदार नातेदार भएपछि उनीहरुले निगमको जमिन खरिदमा आर्थिक चलखेल गर्न सजिलो भएको स्थानीय बताउछन । यता स्थानीयका अनुसार चाराआली डिपो प्रमुृख कार्कीलाई जमिन खरिदको बिषयमा सम्पूर्ण प्रक्रिया थाहा छ । उनले नै जमिनको टोल बैना दिएको र जग्गाका धनीपूर्जा बुझेका हुन, मालपोतमा समेत गएका थिए ।

तर, डिपो प्रमुख कार्कीले भने, मलाई यसबारेका केही थाहा नभएको भन्दै पन्छिन खोजे । निगमले जमिन खरिद गरेको हो, यसबारेमा बुझनु परेमा आयाल निगमका प्रबन्धक पुष्कर कार्की वा प्रवत्ता सिताराम पोखरेलसंग बुझनु भन्दै पन्छिए ।

आयाल निगमले किनेको जग्गाको मुल्य बढीमा ६ लाख

डिपो निर्माण लागि खरिद गरिएको जग्गा खेती योग्य जमिन भएको स्थानीय बताउछन । कार्की र मरासैनी परिवारको पुर्खालौ जमिन खरिद गर्न प्लटिङ्ग व्यवसायी पटक पटक जमिन हेर्ने आएको स्थानीय छरछिमेक बताउछन । सो बेला जमिनधनीहरुले ८ लाख रुपैया प्रति कठ्ठा दर लगाएपनि प्लटिङ्ग व्यवसायी ५ लाख रुपैया दिन्छु भन्दा दररेट नमिलेपछि जमिन बाझै बसेको थियो ।

बाझै रहेको जमिनलाई आयाल निगमले १३ लाख ५१ हजारमा प्रति कठठा खरिद गरेको घटना सार्वजनिक भएपछि स्थानीय चकित परेका छन् । स्थानीय भन्छन– यहाको खेती योग्य जमिनको दररेट ५ देखि ६ लाख पर्छ, बाटोले छोएको जमिन प्रति कठ्ठा ८ देखि १० लाख रुपैयामा पाइन्छ ।

कसले कुन कित्ताको जग्गा कति -कति रकममा बेचे ?विवरण यस्ताे छ ।

१) चिरञ्जीवि मरासैनीकाे कित्ता नम्बर ११९८– जग्गा १० कठ्ठा  रकम १,३५,१०,०००

२) दिपककुमार कार्कीः कित्ता नम्बर ५८– जग्गा १ विघा १८ कठठा ,कित्ता नम्बर ५९– जग्गा १ विघा १८ कठ्ठा,

कित्ता नम्बर ६७– जग्गा १ विघा १ कठ्ठा जम्मा ४ विघा १७ कठ्ठा, जम्मा रकम १३,१०,४७,००० मा

३) नारायण मरासैनीः कित्ता नम्बर १०४०– जग्गा १० कठ्ठा रकम १,३५,१०,०००

४) राम मरासैनीः कित्ता नम्बर ७०९– जग्गा १० कठ्ठा –रकम १,३५,१०,०००

५) भानु मरासैनीः कित्ता नम्बर १०३९ र १०४१– जग्गा १० कठ्ठा –रकम १३५१००००

६) नमिका कार्कीः  कित्ता नम्बर ३०६– जग्गा १ विघा १२ कठ्ठा १० धुर– रकम ४,३९,०७,५००

७) विष्णु कार्की भटटराईः कित्ता नम्बर ६४७– जग्गा ३ कठ्ठा ३ धुर– रकम ४२,५५,६५०

८) छत्रकुमार कार्कीः कित्ता नम्बर ५७– जग्गा १ विघा १८ कठ्ठा– रकम ५,१३,३८,०००

९) गोमा कुमारी बस्नेतः कित्ता नम्बर ७७५– जग्गा १ विघा –रकम २,७०,२०,०००

१०) अनिलकुमार कार्की क्षेत्रीः कित्ता नम्बर ७९६– जग्गा १ विघा– रकम २,७०,२०,०००

११) सिता विष्णुमाया कार्कीः कित्ता नम्बर ५६– जग्गा २ विघा १२ कठ्ठा– रकम ७,०२,५२,०००

१२) भिमादेवी मरासैनीः कित्ता नम्बर ११९९– जग्गा १० कठ्ठा– रकम १,३५,१०,०००

१३) निरोजकुमार थपलियाः कित्ता नम्बर ७०६ र ७७६– जग्गा ३ विघा १० कठ्ठा– रकम ९,४५,७०,०००

१४) रमेश गौतमः कित्ता नम्बर ४७०– जग्गा १० कठ्ठा रकम १,३५,१०,०००

१५) कमलामाया बस्नेतः कित्ता नम्बर ६४३– जग्गा ५ कठ्ठा– रकम ६७,५५,०००

१६) दिपककुमार कार्कीका छोराद्धय आभास र अग्रिम कार्कीको संयुक्त नाममा रहेको जग्गा

कित्ता नम्बर १५४ – जग्गा ३ विघा ६ कठ्ठा– रकम ८,९१,६६,००० मा