August 20, 2017

मेरो कार्यकालभित्रै ७ वटै प्रदेशमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउँछुः मन्त्री केसी

काठमाण्डौ,१९ साउन । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले ७ वटै प्रदेशमा अन्तराष्ट्रिय स्तरको रंगशाला स्थापना गर्ने दाबी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री केसीले भने, ‘नेपालको खेलकुद क्षेत्रलाई संघीय संरचना अनुसार नै रुपान्तरण गर्नका लागि ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाए ।

खेलकुदमन्त्री केसीले आफ्नो कार्यकालमा नेपालको खेलकुद क्षेत्रलाई सुदृढ र सवल बनाउनको लागि गम्भिर भएर काम गर्ने विश्वास दिलाए । उनले भने, ‘खेलकुद क्षेत्रमा विभिन्न समस्या देखिएका छन्, एन्फा, ओलम्पिकदेखि क्रिकेट संघमा समेत विवाद छन्, विभिन्न संघहरुमा देखिएका सबै समस्याहरुलाई हल गर्नुपर्छ ।

’खेलकुद क्षेत्रमा देखिएका सबै खाले समस्या हल गरेर अघि बढ्नु नै आफ्नो उद्देश्य र प्राथमिकता रहेको भन्दै सोही बमोजिम काम गर्ने समेत मन्त्री केसीले आश्वासन दिए । उनले भने,‘खेलकुदमा राजनीतिकरण भएको छ, यसलाई न्यूनिकरण गर्नु मेरो पहिलो प्राथमिकता हो, म सकेसम्म न्यूनिकरण गर्ने प्रयास गर्नेछु ।

खेलको विकास गर्नको लागि एक अर्ब ६० करोड छुट्याइएको समेत उनले जनाए । उनले युवाहरुको लागि कम बजेट भए पनि खेलको विकासको लागि धेरै ठूलो बजेट छुट्याईएको बताए ।  मन्त्री केसीले  हरेक खेलहरुको विकास र स्तरोन्नती भएकाे अाफनाे कार्यकालमा परिवर्तनको आभाष दिलाएरै छाड्ने बताएका हुन् ।