आयल निगमले ६ गुणासम्म बढी मूल्य तिरेर जग्गा किनेको खुलासा

काठमाण्डौ, १९ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारण गर्न भन्दै ६ गुणासम्म मूल्य बढाएर जग्गा खरिद गरेको देखिएको छ ।

सांसदहरुका अनुसार निगमले झापामा खरिद गरेको २३ बिघा ३ कट्ठा १३ धुरमध्ये करिब २१ बिघा जग्गा दुर्गममा पर्छ । उक्त क्षेत्रमा प्रतिकट्ठा जग्गाको मूल्य डेढदेखि २ लाख रुपैयाँ मात्र हो । तर निगमले ‘चलखेल’ गरेर प्रतिकट्ठा १३ लाख ५१ हजार रुपैयाँ तिरेको छ ।

‘ग्रामिण क्षेत्रमा कालोपत्रेले छोएको जग्गाको मूल्य बढीमा ८ देखि १० लाख रुपैयाँ पर्छ । निगमले खरिद गरेको जग्गामध्ये करिब २ बिघा मात्रै कालोपत्रेले छोएको छ, अन्य क्षेत्रको जग्गा डेढदेखि दुई लाख रुपैयाँ मात्रै पर्छ ।

बुधबार सार्वजनिक लेखा समितिमा झापाका सांसद अमृतलाल राजवंशीले भने, ‘कट्ठाको २ लाख पर्ने जग्गामा १३ लाख ५१ हजार तिरिएको छ। जग्गा खरिदमा धेरै आर्थिक चलखेल भएको छ।

‘ झापाकै अर्की सांसद उषा गुरुङले पनि ‘दुई लाख पर्ने जग्गालाई साढे १३ लाख रुपैयाँ तिर्नुले अचम्मित बनाएको बताइन् ।  याे खबर कान्तिपुर दैनिकमा छ ।