सुनसरीको कोशी गाँउपालिकामा भीषण आगलागी

अमर काफ्ले/इनरुवा, ३१ चैत्र । सुनसरीको कोशी गाँउपालिका ५ नम्बर वडामा आगलागी हुँदा ६० बढी घर जलेर नष्ट भएका छन ।

मनरु मियाँको घरबाट खाना पकाउनेक्रममा सल्किएको आगो हावाका कारण बस्तीमा सल्केको थियो । आगलागिका कारण मुस्लिम समुदायको बसोबास रहेको कुम्याई गाउँको मलदैया टोलका ४२ परिवारको ६० बढी घर तथा टहरा पूर्ण रुपमा जलेका छन् ।

वस्तीमा एकसाथ फैलिएको आगो तत्काल नियन्त्रणमा आउन नसक्दा ठुलो क्षति भएको पीडितहरुले बताएका छन् । आगलागी नियन्त्रणमा स्थानीयवासीन्दा सहित नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना खटेको थियो । घटनास्थलमा इनरुवाको वारुण यन्त्र तत्काल पुगे पनि इटहरी, धरान, विराटनगर र राजिविराजबाट वारुण यन्त्र पुगेपछि मात्र आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

सुनसरी प्रशासनले आगलागीमा १ करोड बढीको क्षतिको अनुमान गरेको छ । आगलागीमा कुनै पनि मानवीय क्षति नभएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । प्रशासनले पीडितका लागि तत्काल राहतको व्यवस्था मिलाउन रेडक्रस सहित सरोकारवालासँग पहल सुरु गरिएको जनाएको छ ।

सुनसरीमा हावाहुरीको समयमा वर्षेनी ठूलाखाले आगलागीका घटना हुने गरेका छन् ।बस्तीमा सामान्य चेतनाको कमीका कारण वर्षेनी आगलागी हुँदा ठुलो क्षति हुने गरेको छ ।