September 26, 2017

३ यस ६४ दिन पीर, चुनावमा खीर

बीपी कोइरालाले आजभन्दा चार दशकअघि गरेको राजनीतिक प्रक्षेपण काटिकुटी जस्ताको तस्तै अहिलेको अवस्थासंग मेल खान्छ । अदालतलाई दिएको बयानमा बीपी त्रास नमानी तात्कालिन परिस्थितिको मूल्यांकन यसरी गर्छन्– ‘नेपालमा कस्तो स्थिति छ भने, को देशभक्त नेपाली हो ? त्यहाँ कोही हिन्दुस्तानवादी छन्, कोही चीनवादी होलान्, कोही अरुवादी ।

म स्वदेश फर्कने कुरामा चीनवादी खुशी छन् रे । भारतवादी खुशी छैनन् रे । एउटा चीनवादीले त मसित भने– भारतको विरोधमा बोल्छौ भने हामीहरु सहयोग गर्छौं । भारतको सम्बन्धमा तटस्थ रहन्छौ भने हामी पनि तटस्थ रहन्छौं । र भारतको समर्थन गर्छौ भने हामीहरु विरोध गर्छौं ।

अर्थात, उनीहरु म स्वदेश जाने कुरालाई नेपालको सम्बन्धमा विचार गर्दैनन् । चीन भारतका बीचमा मेरो कस्तो भूमिका हुन्छ, त्यो सोच्छन् । एउटा राजावादीले त के सम्म भनेछ भने भारतलाई गाली गर्छ भने हामी उ स्वदेश आउने कुराको समर्थन गर्छौं, होइन भने विरोध गर्छौं । मानौं, नेपालीहरु अमेरिका वा चीन वा भारतको दलालजस्तो भइरहेका छन् ।’

दलहरु सरकारमा सामेल भएपछि पनि घट्ना परिघट्ना श्रृंखलाले विश्राम पाउँदैनन् । आफ्नै सहकर्मीहरुको गतिविधिबाट हायल कायल भएका बीपी आजभन्दा ६६ बर्षअघि कांग्रेस बैठकमा दिक्दार हुँदै भन्दै थिए– ‘लौ सुन ! नयाँ सरकार बनेको एक हप्ता पनि भएको छैन, अहिले देखि नै नारा जुलुस ।

पहिले सरकारलाई काम गर्न दिनुपर्छ । अनि उसको काम हेरेर समर्थन या विरोध गर्नुपर्छ । सबैलाई मन्त्री पद चाहिएको छ । यो कसरी सम्भव छ ?आज यहाँ बैठकमा के के हुनेवाला छ, मलाई थाहा हुँदैन । तर मोहनशमशेरलाई थाहा हुन्छ ।’
नयाँ सरकारको तुरुप चलाएको खुशीयाली शेरबहादुर देउवाले नमनाए हुन्छ ।

मिनेट मिनेटमा बीपीले भोगेको भाउँतो उनीमाथि खनिइरहेको बुझ्न कठिन छैन् । घडीको पेन्डुलम जतिसुकै हल्लियोस् न, नेपालमा घुम्ने राजनीतिक दृश्य घट्ट घुमेजस्तै हो । जुन घुमाइले कुनै यात्रा तय गर्न सक्दैन । २०१५ सालमा भएको नेपालको पहिलो संसदीय चुनावमा नेपाली कांग्रेसले दुई तिहाई स्थान हात पार्‍यो ।

यो जीतसंगै बीपी प्रधानमन्त्री भए । सूर्यप्रसाद उपाध्याय सर्वशक्तिमान गृहमन्त्री बनाइए । २०१७ सालको राजनीतिक ‘कू’ पछि प्रधानमन्त्री लगायत थुप्रै नेताहरु जेलका पाहुना भए । तर त्यही सरकारका शक्तिशाली गृहमन्त्री उपाध्यायले दलहरु विरुद्ध राजाको प्रायोजनमा भएको बुद्धिजीवी भेलालाई सम्बोधन गर्दै भनेका थिए– ‘प्रजातन्त्रका लागि विदेशी भूमिमा लड्नेहरु अराष्ट्रिय तत्व हुन् ।

देशबाहिर बसेर यहाँभित्र अशान्ति गर्नेहरुलाई देश फर्काउने प्रयास गरिनुपर्छ । यदि मानेनन् भने नागरिकताबाट च्यूत गरिनुपर्छ ।’ जुन सभाको अध्यक्षता नेपालको सवैभन्दा पुरानो पार्टीका खाँटी नेता टंकप्रसाद आचार्यले गरेका थिए । चीन भ्रमणमा लगिएका गृहमन्त्री उपाध्यायलाई आफ्नो बालक छोरो प्रकाश रेखदेख गर्ने काम जिम्मा लगाएर बीपीले चीनसंगको सन्धि सम्झौतामा राजनीतिक चतुर्‍याइँ गरेका थिए ।

शथोरोले भनेका छन– ‘मान्छे आफ्ना औजारको औजार भएको छ ।’ हामी त अझ महाऔजार भएका छौं । निश्चय नै नयाँ पात पुरानो पातसंगै झर्न बनेको हुँदैन् । तर लछारेरै किन नहोस, कसैको भविष्य सुरक्षित हुन नदिने खेलले पुस्तौनी घर गर्दै आएको छ । जनताको जीवनस्तरमा परिवर्तन ल्याउन कुनै मन्त्र अपरिहार्य होइन ।

विश्वले प्रमाणित गरेको विकास गर्ने एउटै सूत्र भनेको दृढ इच्छाशक्ति हो । सिद्धान्तको आधारमा सत्यलाई हैन, सत्यको आधारमा सिद्धान्तलाई हेर्नुपर्छ । देशमा एकपछि अर्को गर्दै धेरै तन्त्र आए । तर ती सबै तन्त्रमाथि दलालतन्त्र हावी भयो । जहाँ नपुगे रवि, त्यहाँ पुगे कवि अव यो आहान फेरिएर ती दुवै नपुगेका ठाउँमा दलाल पुगेका छन् ।

यस सन्दर्भमा एक समाज सुधारकको अनुभव सापेक्षिक छ । उनले लेखेका छन्– ‘मैले दुनियाँको हित गरौं भने मन्दिर बनाएँ । मलाई शुरुमा ठूलो काम गरें भन्ने लाग्यो । म हेर्दै गएँ त्यहाँ त हिन्दुहरु मात्र पो जाँदा रहेछन् । मलाई मन परेन । त्यसैलाई भत्काएर चर्च बनाएँ । त्यसपछि त मुसलमान आगो भए ।

म हैरान भएँ । यत्तिक्कैमा मलाई एउटा उपाय सुझ्यो– ‘म शौचालय किन नबनाउँ ?’ मैले त्यसैलाई शौचालयमा रुपान्तरणा गरें । मैले देखिरहेको छु– के हिन्दु, के मुसलमान, के क्रिश्चियन सवै जान थालेका छन् । यो कामले भने मलाई चाहे जस्तो सन्तुष्टि दियो ।’

दुर्भाग्य भन्नुपर्छ– आजसम्म देशको केन्द्रीय राजनीतिमा राष्ट्रिय हितका विषयमा कहिल्यै गम्भीर बहस नै भएको छैन । निसन्देह व्यक्ति असल आए होलान तर समग्र राजनीति गुट, फुट, झुट र चुटबाट कहिल्यै माथि उठ्न सकेन ।

अरु त अरु सिंगो नेपाली कांग्रेसको आर्थिक बोझ उठाउने कांग्रेसका शीर्ष नेता मध्येका एक जो मुलुकको पहिलो अर्थमन्त्री पनि थिए, सुवर्णशम्शेरप्रति बीपीले मूल्यांकन गर्दै कुनै एक प्रसंगमा भनेका छन्– ‘हिन्दुस्तानले सुवर्णशम्शेरलाई जति मद्दत गरेको थियो, त्यति त कसैलाई गर्नै सक्दैन, तपाईं झुकेर मिल्नुभयो भने पनि  त्यसको परिणाम के भयो ?

कति बलियो हुनुभयो ? हिन्दुस्तानसंग त्यसरी जोल्टिएर बस्दा पनि हिन्दुस्तानले गरेको तमाम मद्दतबाट के भयो ? उहाँ शक्तिको नजिक जानुभयो भन्ने मलाई लागेन । उहाँसंग पैसा थियो, त्यसैले केही कार्यकर्तालाई पालेर राख्नुभयो । राजनीतिक उपलब्धि त उहाँसंग क्यै देखिएन ।

त्यसो हुनाले अरुमाथि निर्भर भएर हामीले राजनीति गर्नुपर्छ भन्ने म मान्दिन ।’ इतिहासका यस्ता ऐनामा एकपटक मात्र पनि वर्तमान पुस्ताका राजनीतिकर्मीहरुले हेरिदिने हो भने धेरै समस्या निदान हुने निश्चित छन । चित पल्टिए पनि, पोट पल्टिए पनि स्वीकार्ने हो भने डोकोको कथाभन्दा माथि नउठ्ने अवस्था प्रतिक्षा गर्नु बाहेक अरु विकल्प बाँच्दैन ।

बरु डोको सुरक्षित राखे पुग्छ, राजनीतिमा मिल्काउन सन्तान चाहिँदैन, अरुले नै ओखती गरिदिन्छन् । फलाम अरुका कारण नभएर आफुभित्रबाटै निस्किएको खियाबाट सिद्दिन्छ । २००७ सालको क्रान्तिपछि उब्जाइएको खुकुरी दलले त दिउँसै मन्दिरका टुँडाल समेत बाँकी नराखेको इतिहासमा उल्लेख छ ।

खुकुरी दल आतंक मच्चाउँथ्यो, सरकार बद्नाम हुँदै जान्थ्यो । उसको आतंक यतिसम्म अराजक थियो कि नाङ्गो खुकुरी नचाउँदै गृहमन्त्री बीपीलाई समेत ठुन्क्याउन पुगेको थियो । क्रान्ति सफल भएपछि के गर्ने र के नगर्ने भनेर विवेक गुमाएका नेताहरुले प्रधानमन्त्रीको सुरक्षामा रहेको बिजुली गारत राजदरबार सार्ने निर्णय गरिदिए ।

यो निर्णय कार्यान्वयन हुनासाथ नेताहरुको मूलघरजस्तो रहेको दरबार एकाएक भीर र भैंसी जस्तो विपरीत हुनपुग्यो । दरबारमा बोलाएर नेताहरुलाई खानपिन गराउने मात्र होइन, चुरोट सम्म सल्काएर खातिरदारी गर्ने राजा दुर्लभ बन्दै गए । त्यहींबाट राजनीतिमा राजा र रैतीको सूत्रपात भयो ।

यो देखेपछि मोहनशम्शेरले बीपीसंग भनेका थिए– ‘तपाईं पटनामा पढेर स्नातक हुनुभयो । नेपालको शासन व्यवस्थाको ज्ञान त्यति भइसकेको छैन । हामीले सय वर्षदेखि मुलुकको शासन व्यवस्था चलाउँदै आएका छौं । देशभरका मानिस चिनेका, चलाएका छौं ।

त्यसैले हामी मिलेर प्रजातन्त्र जोगाऔं । म हृदयदेखि भन्छु– ‘हामीले बाघलाई परिबन्दमा पारेर दार्‍हा नङ्ग्रा निकालेर राखेका छौं । तपाईंहरुले अझ दार्‍हा, नङ्ग्रा थपेर छोडिदिनु भयो । हामीलाई खाने बाघले तपाईंहरुलाई पनि खान्छ ।’
कालान्तरमा मोहनशम्शेरले भने जस्तै भयो ।

नाराले आगो बाल्ने भगीरथ प्रयास भए । तर आगो बाल्ने भनेको नाराले होइन, इन्धनले हो । घाँस काट्न, दाउरा चिर्न, ढिंडो खान त सीप चाहिन्छ भने सरकार चलाउन र राजनीति गर्न केही जान्नु नपर्ने बुझाईका कारण राज्य सञ्चालनका विधि विधान कमजोर भए ।

वर्षैभरि हुने चुनावले व्यक्ति फेर्‍यो तर चरित्र फेरेन । जनता ३६४ दिन पीरमा बाँच्न बाध्य जनतालाई चुनावका दिन खीर खुवाइयो । अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई स्वभावतः नालायक ठान्यो । तर यति धेरै नालायक ठान्यो कि ६० वर्षे मानिस नातिको माध्यमबाट कलेजको परिचयपत्र देखाएर गाडी भाडाको सहुलियत सुविधा असुल्न थाल्यो ।

यो पनि समाजमा फैलिदै गएको अपराधिकरणको नमूना हो । त्यो त्यही सिंहदरबार थियो, जहाँ त्यो बेलाका वजनदार सभा सदस्य लक्ष्मीप्रसाद देवकोटाको ओभरकोट हराएको थियो । अहिले त हाकिमले चलाउँदै गरेको ल्यापटपदेखि फूल फुल्दै गरेको गमला समेत हराउने गरेको समाचार आउने गरेका छन् ।

काँटा चम्चा कति हराउँदा हुन, त्यसको हिसाव किताब नै छैन । हातमा आइफोन त्यो पनि सेभेन प्लस भएर के गर्नु ? हाम्रो संस्कार र संस्कृति उही छ । समस्या समाधान हैन, समाधानमा समस्या उब्जाउनेहरुको बिगबिगी बढ्दो छ । आफू अमेरिका जान पाइएन भने गुगलबाटै अमेरिकाको नक्सा मिल्काउन खोज्ने अतिवादी पटमूर्खहरुको घेराबन्दीमा देशका कार्यकारी निकाय पर्दै गएका छन् ।

घटनाक्रमले देखाउँछ– हाम्रा राजनीतिज्ञहरु मान्छे कम, रोर्बट ज्यादा देखिए । संगैमा गृहयुद्धमा फसेको छिमेकी मुलुक श्रीलंकाले विदेशी शक्ति दबाब र प्रभावलाई पूर्ण नियन्त्रण गर्‍यो । ९६ वर्ष अघि आफूलाई उपनिवेश बनाएबापत लिवियाले ईटालीबाट पाँच अर्ब डलर क्षतिपूर्ति भर्न बाध्य बनायो ।

छिमेकी देशले स्वाभिमानको परिचय दिएर देशमा अभूतपूर्व परिवर्तन ल्याएका बेला हामीले पनि आफू जन्मिएको माटो हातमा लिएर मन र मस्तिष्कले निर्णय गर्ने बेला आएन र ? नत्र घोडाभन्दा बग्गी अगाडिको उल्टो अवस्था नआउला भन्न सकिन्न । sanketkoirala07@gmail.com