September 20, 2017

अधिकारकर्मी बलदेव रामकाे निधन

दिनेश शर्मा /राजविराज, १७ साउन । पूर्वी नेपालका दलित, भुमिहिन र हरुवा चरुवाको अधिकार र जातीय भेद्भाव, छुवाछूत विरुद्धको आन्दोलनको नेतृत्वकर्ता बलदेव रामको निधन भएको छ।

सप्तरीको सुरुंगा नगरपालिका ४ मधुपट्टि (कनकपट्टि) स्थित आफनै घरमा मंगलबार ६७ बर्षकाे उमेरमा रामको निधन भएको हो । गत साउन ९ गते हृदयघात भएर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि १५ गते घर फर्किएका रामको अचानक निधन भएको हो ।

बिहानै खेत जान भनेर निस्केका उनी आँगनमै ढलेपछि नउठेको छोरा गणेश रामले जानकारी दिए । रामका श्रीमती, दुई छोरी र दुई छोरा छन् ।  सप्तरीको दौलतपुर गाविसमा २०५६ सालमा दलितहरुले सिनो फाल्नै पर्ने सामाजिक बाध्यताका विरुद्ध आन्दोलनको अगुवाई गरेका रामकै अगुवाईमा सप्तरी, सिरहा, धनुषा, सुनसरी, मोरङ्ग लगायतका तराईका जिल्लावाट उक्त प्रथा अन्त्य भएको थियो ।

राष्ट्रिय भूमि अधिकार मञ्च र हरुवा चरुवा अधिकार मञ्चको संस्थापक अध्यक्ष राम उच्च स्तरिय भुमिसुधार आयोग २०६५ को सदस्य समेत भएका थिए । गाविस सचिवरहेका बुवा पृतमलाल दास (राम) को संगतका कारण १४ वर्षको उमेरदेखि नै सामाजिक आन्दोलनमा सरिक भएका राम आफनै जिल्लामा तीन हजारको हाराहारीमा मोहीहरूको समस्या समाधानका लागि सकृय थिए ।

भूमिहीन, सुकुम्बासी हरुवा चरुवा आन्दोलनको नेतृत्व गरी दलित समुदायलाई अधिकार प्राप्तिका लागि संगठित गर्ने अभियान चलाउने राम दर्जनौं पदक तथा सम्मानवाट विभुषित भएका थिए ।

भारतको दिल्लीमा २०६३ सालमा डाक्टर अम्बेडकर पुरस्कार, ‘दयाराम परियार स्मृति मानवअधिकार सम्मान’, बैद्य—प्रकाश मानव अधिकार पुरस्कार २०७३, टिकाराम मानव मर्यादा पुरस्कार, जनउत्थान राष्ट्रिय पुरस्कार र समाज कल्याण परिषदद्वारा २०६९ मा सामाजिक सेवा पुरस्कार प्राप्त गरेका थिए ।