संविधान संशोधनमा एमाले बाधक : फरमुल्लाह मंसुर

दिनेश शर्मा/ राजविराज, १७ साउन । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरले नेकपा एमालेले संविधान संशोधनमा हलो अड्काएर मुलुकलाई राजनितिक रुपमा बन्दी बनाएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस सप्तरीले मंगलवार राजविराजमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै उनले संविधान संशोधन भए त्यसको जस कांग्रेसले पाउँछ भन्ने डरले एमालेले बखेडा झिकेको बताए ।

कांग्रेसले संविधान संशोधन प्रस्ताव अघि बढाउँदा जस जति अरुले पाउने भयो भनेर एमालेले खुट्टा तर्काउन थालेको भन्दै उनले प्रश्न गरे–‘देशमा स्थिरता ल्याउने प्रस्ताव कसरी राष्ट्रघाति भयो ?’  मन्त्री मंसुरले अध्यक्ष ओली र एमालेले मधेश र मधेशी जनताको अपमान गरेको आरोप पनि लगाए ।

‘अधिकारका लागि मधेशी जनताले ज्यान गुमाउँदा २- ४ वटा आँप झेरको देख्ने अनि तराईलाई मधेश प्रदेश बनाउने प्रस्तावमा बिहारसँग जोडेर होच्याउने ओली तथा धोती प्रदेश भन्ने झलनाथ खनाल र एमालेलाई मधेशी जनताले दण्ड दिने की नदिने?’– उनले भने ।

मन्त्री मंसुरले  मधेशी पार्टीको राजनीतिक यात्रा साईकल, रेल र अन्य के के जाती हुँदै छाता छापसम्म आई पुगेको भन्दै उनले ब्यंग्य गरे । ४ वर्षसम्म संविधान सभामा रहेर संविधान निर्माण तथा मधेशी जनताको अधिकारका लागि सिन्को पनि नभाँचेका मधेशी दलका नेताहरु खाली पद र पैसाका लागि कुदेको आरोप लगाए ।

दोश्रो संविधान सभामा पनि मधेशी दलका नेताहरुको सन्तोषजनक भुमिका नदेखिएको र संविधान जारी भए पश्चात उनीहरुको स्वार्थ पुरा नहुने भएपछि संविधानका विरुद्धमा अभिब्यक्ति दिन सुरु गरेको उनले आरोप लगाएका छन् ।