Breaking News

भेनेजुएलाका राष्ट्रपति मदुरोमाथि अमेरिकी प्रतिबन्ध

काठमाण्डाै, १७  साउन । भेनेजुएलामा भएको विवादास्पद चुनावपछि अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो तानाशाह रहेको भन्दै उनिमाथि प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धपछि अमेरिकामा रहेको मदुरोको सबै सम्पत्ति फ्रिज भएको छ । यस्तै अब कुनै पनि अमेरिकी व्यवसायिक संस्था तथा व्यक्तिले मदुरोसँग कारोबार गर्न पनि पाउने छैनन् । भेनेजुएलामा आइतबार विरोध प्रदर्शनकाबिच संविधानसभा चुनाव भएको थियो ।

प्रदर्शनको क्रममा कम्तिमा १० जनाको ज्यान गएको थियो । राष्ट्रपति मदुरोले आइतबारको चुनाव परिवर्तनका लागि रहेको र प्रतिबन्धले आफूलाई कुनै फरक नपर्ने बताए । सोमबार टेलिभिजन सम्बोधनको क्रममा मदुरोले अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्धले डोनाल्ड ट्रम्पको घृणाको स्वरुप देखिएको बताए ।

आफूहरुले बहिष्कार गरेको संविधानसभा चुनावमा ८८ प्रतिशत मतदाता सहभागी नभएको विपक्षी गठबन्धनको दाबी छ । तर भेनेजुएलाको निर्वाचन आयोगले भने ४१.५ प्रतिशत मत खसेको दाबी गरेको छ ।

विपक्षी गठबन्धनले आफूहरुले संविधानसभालाई नमान्ने बताएका छन् । भेनेजुएलामा राष्ट्रपति मदुरो र विपक्षीबिचको तनावका कारण राजनीतिक अस्थिरता बढ्दै गएको छ ।

 

shares