November 18, 2017

भरतपुर -१९ मा निर्वाचनको मिति तय गर्न सर्वदलीय बैठक बस्दै

चितवन,१७ साउन । भरतपुर वडा नम्बर १९ मा निर्वाचनको मिति तय गर्न मंगलबार दिउसाे ३ बजेका लागि  मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले  सर्वदलीय बैठक बाेलाएकाे छ ।

दिउसाे ३ बजेका लागि बैठक बोलाइएको कार्यालयका सहायक मतदान अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।   निर्वाचनको मिति एकहप्ता भन्दा बढी नजाने बताए ।’ निर्वाचन आयोगले शीघ्र मिति तय गरेर निर्वाचन गर्न निर्देशन दिइसकेकाले त्यसको तयारीमा कार्यालय लागिपरेको घिमिरेको भनाइ छ ।

उनका अनुसार मंगलबार साँझ नै निर्वाचनको मिति तय गरेर कार्यालयमा सूचना टाँस्ने तयारी गरिएको छ । भरतपुर वडा नम्बर १९ मा ३ वटा मतदानस्थलमा ६ वटा मतदान केन्द्र रहेको छ । यहाँ ३६ जना कर्मचारी आवश्यक पर्ने भएकाले मिति तय भएपछि तत्कालै कर्मचारी छनोट हुने जनाइएको छ ।

कर्मचारीको व्यवस्थापन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने र निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन जिल्ला निर्वाचन कर्यालय चितवनबाट हुने जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए ।

१४ जेठ राती मतपत्र च्यातिएपछि विवादित बनेको भरतपुर १९ को विषयमा सर्वाेच्च अदालतले शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएको थियो।