गुणस्तरिय सेवा दिन टेलिकमलाई लेखा समितिकाे निर्देशन

गुणस्तरिय सेवा दिन टेलिकमलाई लेखा समितिकाे निर्देशन

काठमाठौं १६, साउन । दुरसञ्चार सेवाको विस्तार, गुणस्तर र प्रतिफल कायम हुनेगरी कार्ययोजना बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको संसदको सार्वजनिक लेखा समिति बैठकले टेलिकमको सेवालाई लिएर जनतामा देखिएको गुनासोलाई तत्काल समाधान गर्ने कार्ययोजना बनाउन निर्देशन दिएको हो ।

बैठकले दुरसंचार सेवाको विस्तार, गुणस्तर र प्रतिफल कायम हुनेगरी ३ महिने, अर्धवार्षिक र बार्षिक कार्ययोजना बनाई एक हप्ता भित्र समितिमा पेश गर्न नेपाल टेलिकमलाई निर्देशन दिएको हो ।

बैठकमा टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले नाफा र कारोबार दुबै बढ्दै गएको जानकारी दिनुभयो । गत आवमा टेलिकमले कुल ४४ अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्ष ०७४/०७५ मा टेलिकमले नाफा बढाएर १६ अर्ब २९ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको उहाले जानकारी दिनुभयो । टेलिकमले फोरजी सेवा विस्तारका लागि काम गरिरहेको र थप सेवा विस्तारका लागि बोलपत्र कागजात तयार भइसकेको र छिट्टै आह्वान गरिने समेत उहाले जानकारी दिनुभयो । टेलिकममा ९२ प्रतिशत सरकार र बाँकी ८ प्रतिशत सर्वसाधारणको लगानी छ ।