October 24, 2017

किर्ते अभियोगमा राष्ट्रिय वाणिज्य बैंक इनरुवा शाखाका सहायक प्रबन्धक पक्राउ

अमर काफ्ले / सुनसरी, १४ वैशाख । किर्ते अभियोगमा राष्ट्रिय वाणिज्य बैंक इनरुवा शाखाका सहायक प्रबन्धक तारणीप्रसाद खतिवडा पक्राउ परेका छन् ।

हरिनगरा १ मा रहेको चपराही निम्न माध्यमिक विद्यालयको खाताबाट किर्ते गरी ५ लाख ६० हजार रकम निकाल्ने कार्यमा संलग्न रहेको पाइएपछि सहायक प्रबन्धक खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

किर्ते गरी बैंक खाता परिवर्तन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीले खतिवडा सहित इनरुवा ९ बबियाको महाविर प्राविका शिक्षक मनोज चौधरी र मुख्य योजनाकार मानिएका सेवा निवृत्त नरसिंहका शिक्षक सिद्धीनाथ लाल दासलाई समेत पक्राउ गरिएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सनुसरीले किर्ते कागजात तयार पारी ठगी गरेको आरोपमा म्याद थप गरी असुन्धान अघि बढाएको छ ।

चपराही माविका प्रअ भगवानप्रसाद गुप्ता र शिक्षिका कविताकुमारी बहरदारको नाममा रहेको चल्ती हिसाब नम्बर १०९२ नम्बरको बैंक खाता किर्ते गरी रकम निकाल्न विरेन्द्र मण्डललाई नक्कली प्रअ र मोहन प्रसाद मण्डललाई नक्कली शिक्षक बनाई हस्ताक्षर कार्ड भरिएको पाइएको छ ।

प्रहरी स्रोतका अनुसार किर्ते गरी निकालिएको रकम ५ लाख ६० हजार मध्ये घटनाका मुख्य डिजाईनर मानिएका दासले बैंकका कर्मचारीहरुलाई ५० हजार र मनोज चौधरीलाई १ लाख रुपैयाँ दिएको अनुसन्धानका क्रममा खुलेको छ ।