September 26, 2017

मानव र वन्यजन्तु बिचको द्वन्द न्युनिकरणका लागि बर्दिया निकुञ्जद्धारा बजेट व्यवस्था

भावुक योगी, बर्दिया १५ साउन । बर्दिया राष्ट्रिय निकुञ्जले मानव वन्यजन्तु बिचको द्धन्द्ध न्युनिकरण गर्न भन्दै मानव वन्यजन्तु द्वन्द न्युनिकरणलाई प्राथमिकतामा राखि बजेट व्यवस्था गरेको छ ।
चालु आर्थिक बर्ष २०७४/०७५ मा बर्दिया निकुञ्जले मध्यवर्ति क्षेत्रमा बसोबास गर्ने उपभोक्ताहरुलाई वन्यजन्तुबाट पर्ने असर न्युनिकरण गर्नका लागि प्रभावकारी कार्य गरिने बताएको छ ।
यस आर्थिक बर्षमा जनताको माग बमोजिम कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारबाट यथेष्ठ बजेट व्यवस्था भएको बर्दिया निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिए ।
मानव वन्यजन्तु द्वन्द ब्यवस्थापनका लागि २ करोड ७५ लाख रुपैँया, निकुञ्ज किनारमा विद्युतिय तारबार एवं पर्खाल निर्माणका लागि १ करोड ७५ लाख रुपैँया र ठाकुरबाबा नगरपालिका भुरीगाउँ क्षेत्रको समस्याका रुपमा रहेको तलबेलवा खोला नियन्त्रणका लागि ३० लाख रुपैँया बजेट ब्यवस्था गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत थापाले बताए ।
यस्तै वन्यजन्तु पिडित परिवारको आयआर्जनमा सहयोग पुर्याउन १ करोड रुपैँया भन्दा बढि बजेट व्यवस्था गरिएको छ । चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका लागि ६ लाख रुपैँया र चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान दिवश मनाउन समेत बजेट ब्यवस्था गरिएको छ ।
यसैगरी घाईते, अपांग, टुहुरा र समस्याग्रस्त वन्यजन्तुको ब्यवस्थापनका लागि वन्यजन्तु उद्धार केन्द्र निर्माण गर्न १ करोड रुपैँया ब्यवस्था गरिएको छ भने पर्यटन कार्यक्रमलाई सहयोग पुग्ने वनपथ, पूल, मचान जस्ता कार्यक्रका लागि पनि झण्डै १ करोड ५० लाख रुपैँया बजेट ब्यवस्था गरिएको छ ।