भरतपुर महानगरकाे वडा न. १९ मा पुनः मतदान गराउन सर्वोच्चको अादेश

काठमाण्डाै,१५ साउन । सर्वोच्च अदालतले चितवनकाे भरतपुर महानगरपालिकाको वडा नम्बर १९  पुनः मतदान गर्न आदेश दिएको छ। आइतबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मतपत्र च्यातिएको वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने गरी मुद्दाको फैसला गरेको हो।

भरतपुरमा मतगणनाकाक्रममा माओवादी केन्द्रका प्रतिनिधिहरुले मतपत्र च्यातेपछि विवाद सुरु भएको थियो। निर्वाचन आयोगले वडा नम्बर १९ नम्बरमा  फेरि मतदान गर्ने निर्णय गरेको थियो।

आयोगको निर्णयविरुद्ध पुनः मतदान होइन पुन मतगणनाको माग गर्दै भरतपुर–१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान बिक र त्यही वडाका मतदाता तुलसीराम पाण्डेले जेठ २१ गते रिट दायर गरेका थिए। सर्वोच्चले अाज सो रिट खारेज गरिदिएको छ।

मतगणनाकाक्रममा मतपत्र त्यातिएपछि मतगणना स्थगित गरिएकाे थियो । उक्त घटना पछि निर्वाचन आयोगले सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन समिति गठन गरी भरतपुर पठाएको थियो।

उक्त टोलीले अध्ययन गरी त्यहाँ ९० वटा मतपत्र च्यातिएको यकिन गरी प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका अाधारमा अायोगले भरतपुर १९ मा पुन मतदान गर्ने निर्णय गरेको थियो।

(सर्वोच्च अदालतकाे फैसलाकाे पूर्णपाठ)

०७३-WO-१२७२