September 25, 2017

जनसंख्या र भुगोलकाे अाधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव

काठमाण्डाै,१५ साउन । व्यवस्थापिका संसदमा प्रतिनिधीत्व गर्ने दलहरुले जनसंख्या र भूगोल दुवैलाई आधार मानेर निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव दिएका छन् ।
आईतबार सिंहदरबारमा निर्वाचन क्षेत्र निर्धारण आयोगले गरेको छलफलमा उनीहरुले यस्तो सुझाव दिएका हुन् । जनसंख्यालाई ५१ र भूगोललाई ४९ प्रतिशत आधार मानेर निर्वाचन क्षेत्र निर्धारण गरिए सबैलाई मान्य हुने उनीहरुले सुझाव दिएका छन् ।

स्थानीय तहको गठन गरिँदा केही ठाउँका सेवाग्राहीलाई अपायक भई सेवा लिन निकै कठिन भएकाले निकै सुझबुझका साथ संघीय र प्रदेशको निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने सुझाव पनि दलका नेताहरुले दिएका छन् ।

बैठकपछि नेताहरुले जनसंख्या र भूगोल दुवैलाई आधार मानेर निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने जानकारी दिएका छन् । सरकारले पूर्वन्यायाधीश कमलनारायण दासको नेतृत्वको निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको थियो ।

सरकारले दिएको २१ दिनभित्र निर्वाचन क्षेत्र निर्धारण गर्ने जिम्मेवारी दिएकाले तोकिएकै समयमा मापदण्डभित्रै रहेर प्रतिवेदन बुझाउने आयोगले जनाएको छ ।