November 19, 2017

न भन्न लायक काम, न गन्न लायक उमेर

प्यारी न्यान्सी, अविरल माया !

अघिल्लो महिनाको चिट्ठीमा मैले तिमीलाई असारको बखान सुनाएको थिएँ । हिलो माटोमा कर्मको यज्ञ लगाउने हाम्रो परम्पराको पोको फुकाएको थिएँ । मेरो चिट्ठी पढेर तिमीभित्र नजानिदो रोमाञ्चकता र हुटहुटी पैदा भएको महसूस मैले गरेको छुु । असार १५ को दही चिउराको सगुनको पोको खोलेको दृश्य नओझेलिदै फेरि साउन १५ मा खिरको महिमा बोकेर मेरो चिट्ठी तिम्रो दैलो खोल्न आइपुगेको छ ।

हुन पनि हो– अब त चाडवाडका लस्कर लाग्न थालेका छन् । पात्रोका अधिकांश कोठामा राताको साम्राज्य छ । जब चाडपर्व नजिकिन्छन् अनि परदेशी मनहरुमा एकप्रकारको खुल्दुलीले पौंठेजोरी खेल्न थाल्छ । रातो सारी र छड्के तिलहरीसंगै छमछमी नाचेका दृश्यहरु सल्बलाउन थाल्छन् । मन त मनै हो नि कहिले पत्थर जस्तो कठोर भइदिन्छ त कहिले सिसाजस्तो कोमल । अनि कहिले मरिच जसरी चाउरिन्छ त कहिले क्षितिजसरी फराकिलो भइदिन्छ । एक्कैछिनमा मन पशुपतिको कैलास डाँडामा बत्तिन्छ ।

हुन पनि सौन्दर्यको त्यो विचित्र लालिमाले कसलाई छुँदैन र ? विवाहित त त्यसै पनि भइ गए, विवाह नभएका युवतीहरुको चुरीफुरी पनि कम ठाँटिलो हुँदैन् । ‘फलानाकी छोरी गुन्यू चोलीमा कस्ती पुतली देखिएकी’ तिजले जुराउने शायद यही टिप्पणी कतिका लागि लगनगाँठोको डाँक पनि ठहरिएला । हाम्रा चाडपर्व साँच्चै मानव धर्मका सेतू हुन् । मात्र प्रयोगको कसिमा को कस्तो उत्रन्छ, त्यो उसको अनुभूति हो ।

शायद सम्मोहनले तानेर होला तिम्रा जर्ज ह्यारिसन गंगा नदीमा पहेंलो वस्त्र लगाएर आत्मशान्ति खोजिरहेका छन् । म्याडोनाहरु संस्कृत शब्दका गेडा केलाएर आफ्नो अस्तित्व खोजिरहेका छन् । तिमिलाई थाहा छ ? पाप र धर्मको दूरी त्यति टाढा छैन् । त्यही भात थालमा हुँदा भात ठहरिन्छ तर थालबाट झर्नासाथ जुठो हुन्छ । ईस्लाम धर्मले पृथ्वीका हरेक संरचनालाई प्रभुको स्वामित्व ठान्छ ।

तर हिन्दु धर्मले तिनै बस्तुलाई देउता ठानेर पुज्छ । यसरी हेर्दा यी दुई धर्मबीच ‘को’ भन्ने अक्षरको मात्र अन्तर छ । यसो नहुने हो भने फरक नै केही छैन् । मैले अनायास यी कुरा भनिरहँदा अनौठो लागिरहेको होला । यो लेखनीको उद्देश्य धर्म, संस्कृतिमा एकाकार गराउने मेरो लक्ष्य पटक्कै होइन ।

बरु एउटा कार्पेन्टरको छोराको असन्तुष्टिले उसलाई कसरी जिसस् क्राइष्ट बनायो ? मृत्युको कारण खोज्ने जिज्ञासाले लखेटेको एउटा युवराजले राजगद्दी छोड्को बद्ला भगवान गौतम बुद्धको मर्यादा कसरी आर्जन गर्‍यो ? यी प्रश्नको उत्तर पाउन तिमीले धेरै ठेलीहरु छिचोल्नु पर्छ । धर्म भनेको हामीले धर्तीमा आआफ्नो कुरो बिकाउन खोलेको गुठीको व्यापार होइन् ।

धर्म भनेको कर्तव्य र अनुशासनको चास्नी हो ।सत्यको सत्मार्ग हो । जाडोमा घाम, गर्मीमा शितल, गरिबलाई दान, भोकोलाई रोटी नै धर्म हो । हिन्दु, वौद्ध, इसाई, मुस्लिम त मान्छेले चलाएको गोरखधन्दा मात्र हो । धर्म चलाउने भनिएका यी महामानवहरुले कहिल्यै अविरको पहाडले पुर्न आव्हान गरेनन् । भोको पेटले धर्मको आडम्बर गाउन भनेनन् ।

तर मान्छेहरुले ती अविचल धरोहरहरुका नाममा आफु अनुकूलको दुन्दुभि बजाए । यही भ्रमलाई हामीले धर्म ठान्यौ । एउटा बहुलट्ठीले डोरीलाई सर्प भनिदिदा हामी कहालिएर ज्यानको भिख माग्न कुद्यौं । हो संसारमा अँध्यारो छ र नै त, उज्यालोको बहस हुन्छ । रावणकै अस्तित्वले नत रामलाई भगवानको कोटीमा पुर्‍याएको छ । यी सवै दृश्यपछि मैले निकालेको निष्कर्ष हो– मानवताभन्दा पर अर्को ईश्वर छैन् ।

हाँसोभन्दा सुन्दर अर्को भाषा छैन् । क्रोधभन्दा पर अर्को शत्रु छैन् । मलाई थाहा छ– तिमीहरु पनि इतिहासका थुप्रै कहालिलाग्दा कालखण्ड पार गरेर यहाँ आइपुगेका हौ । हाम्रा पितापुर्खा फर्पिङमा उत्पादन गरेको बिजुलीको उज्यालोमा रमाउँदा तिमीहरु टुकी युगमै थियौ । तिम्रो देशमा काला र गोराबीच विभेदको जात्रा हुँदा बरु हाम्रोमा न्यायको तराजु भरपर्दो थियो । काला र गोराले किन्ने बजारमा आफुलाई चाहिएको चिज बस्तु किन्न पाउँदैनथे ।

तिम्रो देशका चेरी, पुमा, डकोटा थरका आदिवासीहरु आजकल हेलिकोप्टर, गाडी र मिठाईमा सीमित भएका छन् । बरु कुसुण्डा राजामामा एक्लो किन नहुन ? उनलाई हाम्रो सरकारले छाप्रोको बन्दोबस्तो मिलाएर पालेको छ । तिमीलाई अचम्म लाग्ला– उसको उत्तराधिकारी पनि जन्मिसकेको छ । तर टुकी बाल्ने तिमीहरु युरेनियमबाट विजुली निकाल्ने भएका छौ । हामीहरु मरिचजस्तो खुम्चिएर एक चिम्टी खुसीका लागि संघर्ष गरिरहेका छौं । दाल, भात, डुकूको पिरलोले एकपछि अर्को पुस्तालाई समान गाँजेको छ । त्यसैले त मलाई लाग्छ– ‘भन्न लायक काम नगर्नेहरुको उमेर पनि गन्न लायक हुँदैन् ।’
समयका रुखमा अनेकौं हाँगा पलाइसके । अनेकौं फूलहरु फुलेर झरिसके । समयका हाँगा फेरिए, पात फेरिए , पालुवा फेरिए । भित्ता त्यही हो, हामीले देख्दादेख्दै अनगिन्ती पात्रोहरु फेरिए । क्षण, प्रतिक्षण, सेकेण्ड, मिनेट, घण्टा हुँदै समय दिनरात र वर्षमा चढ्दै शताब्दीयौं पार भइसक्यो ।

गाईले घाँस, बाघले मृग, सर्पले भ्यागुता खाने चक्रमा परिवर्तन आएको छैन् । तर यी सवैको अभिभावक मानिस विश्वासको कुनै चक्रभित्र पस्न सकेको छैन् । यही मानिस जसले माछा जस्तो पौडिन सिक्यो । चराजस्तो उड्न जान्यो । चितुवा जसरी दौड्न सिक्यो । कागजस्तो चलाख पनि दुरुस्तै हुन सक्यो । तर यतिका स्वभावलाई आफुभित्र अनुवाद गर्न सक्ने मानिसले मानिस भएर बाँच्न जानेन् ।

न्यान्सी, मेरा भावनाहरु पढिरहँदा तिमीलाई भावुक भएको भान प¥यो होला । संसारको सवै शास्त्र र कितावका ठेली पढिसक्दा पनि मान्छेको अनुहार पढी साध्य नलाग्ने रहेछ । हामी जति समस्याका गाँठा फुकाउँछौं, उति जेलिँदै जान्छ । अस्ति बनाएको मित्र आज शत्रुमा परिणत भइसक्छ । अरु त अरु ९० वर्षको बाबु आफ्नो ६० नाघेको छोरासंग अंशमा बादविवाद भएपछि चिच्याउँदै भन्छ– ‘तँ कति नालायक रहिछस् बल्ल चिनें ।

’ आफ्नै काखमा हुर्काएर साठी वर्ष पुग्दा पनि आफ्नै छोरो नचिन्ने बाउ कस्तो होला ? यस्तो भएपछि जान्नु, बुझ्नु र चिन्नुको चक्रव्यूहमा घुमेको मानव जीवन कति तारेभीर बन्दो होला ? चोखो भाँडो होइन, मान्छेको मन हो । मनलाई चोखो, पवित्र र स्निग्ध बनाऊँ । यही नै धर्मको सार हो । मुक्तिको बाटो हो । अझ तप, जप र पूजा नै यही हो । कामना गर्छु– ‘तिम्रो जीवन पनि कसीमा अब्बल उत्रियोस् ।’ यिनै शब्दसंगै विट मारें है त ।

तिमीलाई माया गर्ने
संकेत कोइराला