October 24, 2017

संविधान संशोधन विधेयक पारित गर्नैपर्छः संघीय समाजवादी फोरम अध्यक्ष यादव

काठमाण्डौ, १४ वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विधेयकलाई पारित गर्नुको विकल्प नभएको बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले सत्तारुढ र आफूहरुबीच भएको सहमति अनुसार नै संशोधन प्रस्ताव पारित गराउनुपर्नेमा जोड दिए । संघीय गठबन्धनका संयोजक समेत रहेका नेता यादवले उक्त प्रस्ताव पारित नभए निर्वाचनमा भाग नलिने चेतावनी दिए ।

यादवले संविधान संशोधन नभए निर्वाचनलाई सोझै प्रभाव पर्ने समेत स्पष्ट पारे । उनले सरकारले घोषणा गरेको दुई चरणको निर्वाचन गलत भएको बताउँदै यसले भविष्यमा नराम्रा संकेत छोड्ने उल्लेख गरे ।

चुनावको लागि उम्मेद्वारी दिन दलहरु तयार भइरहेको अवस्थामा अझैसम्म पनि स्थानीय तहको संख्या टुङ्गो नलाग्नु पनि उत्तिकै दुःखदायी भएको यादवले बताए ।