August 19, 2017

स्थानीय तहमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन माग

काठमाण्डौ, १४ वैशाख । अन्तर पार्टी महिला सञ्जालले स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्व पचास प्रतिशत पुर्‍याउन माग गरेको छ ।

सञ्जालले बिहीबार काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा सञ्जालकी अध्यक्ष रेणुकुमारी यादवले देशमा विभिन्न समयमा भएका आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका महिलालाई समानुपातिक, समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नका लागि भए पनि ५० प्रतिशत पुर्‍याउनुपर्ने बताइन् ।

संविधानमा स्थानीय तहमा ५० प्रतिशत, प्रादेशिक तहमा ४० र सङ्घीय तहमा ३३ प्रतिशत प्रतिनिधित्व हुने भने पनि निर्वाचनमा यसो हुने नसकेको अध्यक्ष यादवले बताइन् । उनले देशको नीति, निर्णय गर्ने ठाँउमा महिलाहरुको सहभागिता महत्वपूर्ण हुनेमा जोड दिइन् ।

सञ्जालकी महासचिव यशोधा सुवेदीले दलित महिला नभएको ठाँउमा अरु महिलालाई उठ्न समेत आग्रह गरिन् । महिलाहरुको हकअधिकारको लागि लड्दै आएको सञ्जालमा व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर १० राजनीतिक दल आबद्ध छन् ।