September 21, 2017

माओवादी केन्द्रसंग एकताको कुनै संभावना छैनः बाबुराम

काठमाण्डाै, १३ साउन । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले माओवादी केन्द्रसंग एकताको कुनै संभावना नै नरहेको स्पष्ट पारेका छन् ।

नयाँ शक्ति पार्टीको तेस्रो संघीय परिषद् बैठकपछि शुक्रबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा उनले फुटेर गएका सबै माओवादीलाई एक हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेको आह्वानलाई अस्वीकार गरेका हुन् ।

उनले मुद्धाका केहि बिषयमा एक हुन सक्ने भएपनि एकता भने हुन नसक्ने बताए । पत्रकार सम्मेलनमा भट्टराईले समाजवादी फोरमसंगको एकता प्रयास पनि असफल भएको स्वीकार गर्दे दुई नंवर प्रदेशको स्थानीय चूनावमा तालमेल हुन सक्ने बताए ।

प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद, निर्वाचन खर्च राज्यले वेहोर्ने परिपाटी कायम गर्नु अनिवार्य भएको भन्दै यी मुद्दाहरुका पक्षमा वृहद् राष्ट्रिय जनआन्दोलन निर्माण गर्नु ऐतिहासिक आवश्यकता भएको नया शक्तिको ठहर छ ।

त्यस्तै मधेसी, जनजाति, थारु, महिला, दलित, मुस्लिम लगायत सबै सीमान्तकृत समूह र समुदायका जायज मागहरुको यथोचित सम्बोधन हुने गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन पनि सो पार्टीले जोड दिएको छ ।

बैठकले संघीय कार्यकारी समिति भंग गर्दे भट्टराईलाई संयोजकमा चुनिएको छ । बैठकमा सबै संघीय कार्यकारी समितिका सदस्यहरुले राजीनामा दिएका छन् । यससँगै सबै संघीय परिषद्को सदस्य भएका छन् ।