देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागिता नहुने राप्रपाकाे घोषणा

काठमाण्डाै, १३ साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागिता नहुने घोषणा गरेको छ ।

यसअघि राप्रपाले सरकारमा सहभागिताबारे वार्ता गर्न बनाएको समिति भंग गरेको थियो । आफ्नो सहभागिता विना मन्त्रिपरिषद् विस्तार गरेपछि रुष्ट बनेको राप्रपाको पदाधिकारी बैठकले वर्तमान सरकारमा सहभागिताको अध्याय समाप्त भएको घोषणा गरेको हो ।

राप्रपाले उपप्रधानसहित ५ मन्त्री मागेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले चार मन्त्रालय मात्र दिने बताएपछि सहमति हुन सकेन । त्यहीक्रममा राप्रपाको सहभागिता विना नै बुधबार मन्त्रिपरिषद् विस्तार भएपछि राप्रपा नेतृत्व रुष्ट बनेको छ । बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न सरकार गम्भीर नदेखिएको भन्दै चिन्ता व्यक्त गरेको छ । राप्रपा पदाधिकारी बैठकले प्रदेश स्तरीय परिषद् अधिवेशन भदौभित्र गर्ने निर्णय गरेको छ ।