August 20, 2017

नेपालमै पहिलो पटक कृत्रिम ‘भोकल कर्ड’ प्रत्यारोपण

काठमाण्डाै, १२ साउन । घाँटीको क्यान्सर भई आवाज गुमाएकाहरुको उपचारका लागि नेपालमा नयाँ प्रविधि भित्रिएको छ ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धीमा बिहिबार पहिलोपटक दुई बिरामीहरुमा ‘ॐ’ नाम दिइएको आवाज यन्त्र जडान गरिएको हो । यो प्रविधिलाई सिलिकन प्रोस्थेसिस भनिने भारतीय क्यान्सर विशेषज्ञ डाक्टर बिशाल रावले बताए । घाँटीको बोल्ने नली अर्थात् भ्वाइस बक्स मा क्यान्सर भएपछि यसलाई काटेर फाल्नुपर्ने हुन्छ । बोल्ने नली फालेपछि बिरामीले जीवनभरी बोल्न सक्दैन ।

घाँटी तथा टाउकोका क्यान्सर विशेषज्ञ डाक्टर रावका अनुसार बिरामी बोल्न नसक्ने समस्याले गर्दा मानसिक रोग लाग्न सक्ने सम्भावना हुन्छ । यो प्रविधिको प्रयोग पछि बिरामीले बोल्न सक्छ । यो डिभाइस एक पल्ट घाँटीमा राखेपछि ३ महिनादेखि २ वर्षसम्म काम गर्छ । रावका अनुसार यसलाई बेलाबेलामा परिवर्तन गर्न सकिन्छ ।

यो प्रविधिको प्रयोग युरोपियन देशमा पहिले नै प्रयोग भइसकेको भए पनि नेपालमा भने पहिलो पटक  प्रत्यारोपण भएको हो । यो डिभाइस घाँटीमा लगाइसकेपछि बोल्ने बेलामा डिभाइसको तल्लो भागमा छोप्नुपर्छ र बोल्ने अभ्यास गर्नुपर्ने डाक्टर रावले बताए । घाँटीमा सिलिकन प्रोस्थेसिस प्रविधिबाट उपचार गरिने पद्धती ‘ट्रेयाकियोसोफेजल पन्चर’ हो ।