संविधान संशोधन प्रस्ताव निणयार्थ पेश गरिने कांग्रेस महामन्त्रीकाे भनाई

काठमाण्डाै, १२ साउन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालले संविधान संशोधन प्रस्ताव तत्काल निणयार्थ पेश गरिने बताएका छन् ।

महाराजगञ्जस्थित निवासमा आज पत्रकारहरुसंग कुराकानी गर्दै महामन्त्री कोइरालाले संशोधन प्रस्ताव कांग्रेसकै भएपनि पास गराउने ग्यारेन्टी भने कांग्रेसले मात्रै लिन नसक्ने बताए ।

संविधान कार्यान्वयनका लागि सबैलाई समेट्नुपर्ने र त्यसका लागि संविधान संशोधन गर्ने निर्णय कांग्रेसले गरिसकेको भन्दै महामन्त्री कोइरालाले संशोधनका पक्षमा दुई तिहाई जुटाउन कांग्रेसले कसरत गरिरहेको जानकारी दिए ।

असन्तुष्ट मधेश केन्द्रीत दलका अधिकांश माग पूरा भइसकेको भन्दै महामन्त्री कोइरालाले संशोधन पारित भएपनि नभएपनि निर्वाचनमा सहभागि हुन राजपा तयार हुनुपर्ने बताए ।

नेपाल प्रेस युनियनका पत्रकारहरुसंगको भेटघाटका क्रममा महामन्त्री कोइरालाले नेपालका सञ्चार क्षेत्रको समस्या समाधान गर्न कांग्रेस प्रतिबद्ध रहेको बताएका हुन् ।