आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री

काठमाण्डौ, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेकोे बताएका छन् ।

बिहीबार वीर अस्पतालको १२८ औं वार्षिक उत्सवको अवसरमा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले वीर अस्पतालको क्षमता अभिवृद्धिका लागि आवश्यक सबै खालको व्यवस्था गर्ने प्रतिवद्धतासमेत जनाए । सेवालाई प्रभावकारी बनाउने गरी सरकारले नीतिगत, कानुनी र संस्थागत संरचना व्यवस्थापनको काम गरिरहेको उनले बताए।

वीर अस्पतालको सेवालाई गुणस्तरीय बनाउन सरकारले पर्याप्त बजेटको व्यवस्था गरेको उनको भनाइ छ। उनले सबै नागरिकलाई प्रत्यक्ष अनुभूति हुने गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आग्रह समेत गरे । वीरले गुणस्तरीय जनशक्ति निर्माणमा समेत अतुलनीय योगदान दिँदै आएको प्रधानमन्त्रीको बताए। विक्रम सम्वत् १९५९ सालमा स्थापना भएको वीर अस्पताल मुलुकको सबैभन्दा पूरानो सरकारी अस्पताल हो ।