October 18, 2017

दलहरुसँग प्रमुख निर्वाचन आयुक्त असन्तुष्ट

काठमाण्डौ, १४ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा पनि दलहरुबीच सहमति हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

गैरसरकारी संस्थाका प्रतिनिधिहरुसँग बिहीबार काठमाण्डौमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले छिट्टै राजनीतिक सहमति कायम गरी निर्वाचनको वातावरण सुनिश्चित पार्न सरकारलाई आग्रह गरे । निर्वाचन शीर्षकमा नेपाली जनताको नाममा भएको रकम र सहयोगलाई मतदाता शिक्षामा सदुपयोग गर्न समेत सुझाव दिए ।

यादवले आगामी निर्वाचनको समयमा गैरसरकारी संस्थाको गरिमा बढाउने स्वतन्त्र र निष्पक्ष भूमिकामा रहन सुझाव दिए । कार्यक्रममा नेपालमा २५४ अन्तर्राष्ट्रिय तथा ३९ हजार ६ सय ६२ राष्ट्रिय गैरसरकारी सङ्घसंस्था दर्ता रहेको जानकारी दिइएको छ ।