October 22, 2017

संविधान संशोधनको नयाँ प्रस्ताव मधेसी माेर्चालाई अस्वीकार

काठमाण्डौ, ३० चैत्र ।संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाले सरकारले मंगलबार संसदमा दर्ता गराएको संविधान संशोधनको नयाँ प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको छ ।

तमलोपा कार्यालय विजुलीबजारमा बुधबार बसेको मोर्चा बैठकले सत्ता गठबन्धनबाट धोका भएको भन्दै सरकारले ल्याएको विधेयकको विरोध र निर्वाचनमा सहभागी नहुने निर्णय गरेको संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

मोर्चा र एमालेलाई मान्य हुने भन्दै सरकारले संविधान संशोधन गर्न मंगलबार ११ बुँदे नयाँ विधेयक संसदमा दर्ता गराएको थियो । बैठकले  संविधान संशोधनको नयाँ विधेयक विगतमा भएका सम्झौताका भावनाविपरित आएको आरोप लगाएको छ ।

संविधान संशोधन विधेयक अस्वीकार गर्ने निर्णय गरेको मोर्चाले आन्दोलनका कर्याक्रमसमेत घोषणा गरेको छ।  चैत ३१ गते तराईका सबै जिल्लामा प्रदर्शन गर्ने, वैशाख ३ गते निर्वाचन कार्यालय घेराउ गर्ने तथा निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको छ ।

स्थानीय तहको अधिकार कटौती गर्नेगरी सरकारले ल्याएको संविधान संशोधन विधेयकप्रति प्रमुख विपक्षी एमालेले यसअघि नै विरोध जनाइसकेको छ।