September 23, 2017

त्रिशुली नदीमा आर्क डिजाइनमा पक्की पुल बन्ने

चितवन ११ साउन । नारायणगढ–मुग्लिन सडकखण्डस्थित घुमाउने घाटमा त्रिशुली नदीमाथि आर्क डिजाइनमा पक्की पुल बन्ने भएको छ ।

घुमाउने घाटमा पुल बनेपछि तनहुँ सदरमुकाम दमौली, पोखरा, बाग्लुङ र पर्वत जानका लागि सहज हुने भएकाे छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक पहिरो खस्ने र गाडीहरु नै पुरिने भएकाले जनधनको क्षति भएको छ । जति पनि जोखिम छन्, ती स्थानहरु अधिकांश घुमाउनेभन्दा अगाडि मुग्लिन तर्फको १२ किलोमिटर क्षेत्रमा पर्छ । अब घुमाउने घाटमा पक्की पुल बनेपछि पोखरातर्फबाट अाउने यात्रीहरुले त्यो जोखिम मोल्नु पर्ने छैन ।

त्रिशुली नदीमाथि बन्ने आर्क आकारको पुल १०५ मिटर लामो हुनेछ । ९ करोड रुपैयाँ लगानीमा आगामी ४ वर्षभित्र पुल बनाइसक्ने लक्ष्य छ । ठूलो नदीमाथि बन्न लागेको यो नेपालकै पहिलो आर्क ब्रिज हुनेछ । काठमाडौंको धोबिखोला र तीनकुनेमा पनि आर्क आकारको पुल बनाउने काम अहिले जारी छ । घुमाउने घाटमा बन्ने पुलको डिजाइन पास गरी निर्माणका लागि कन्ट्याक्टरलाई नै जिम्मा दिएकाे छ ।

पुल फुटपाथसहित ११ मिटर चौडाइको हुने छ । डबल लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने इन्जिनियर गौतम श्रेष्ठले बताए । उक्त पुल बनेपछि नारायणगढ–मुग्लिन सडकखण्ड बुद्धसिंह मार्गसँग जोडिने छ । याे पुल बने पछि मुग्लिन भएर दमौली पुग्नुभन्दा २५ किलोमिटर कम दुरीमा यो सडक खण्डबाट दमौली पुगिने इन्जिनियर  श्रेष्ठ बताउछन् ।