Breaking News

मन्त्रिपरिषद विस्तार आज, चार दलका १९ नेता थपिने

काठमाण्डौ, ११ साउन । कांग्रेसले पार्टीका गुट/उपगुटको व्यवस्थापन गर्न नसक्दा मंगलबार रोकिएको मन्त्रिपरिषद् विस्तार बुधबार हुँदैछ ।

सत्तासाझेदार माओवादी केन्द्रसँग मन्त्रालय भागबन्डा टुंगिए पनि पार्टीकै तर्फबाट कांग्रेसले मन्त्री छान्न नसकेपछि मन्त्रिपरिषद् विस्तार सरेको हो । यद्यपि, यसपटक सरकारमा कांग्रेसबाट नयाँ अनुहार सहभागी हुने देखिएको छ । राष्ट्रपति कार्यालयमा मंगलबार ४ देखि ५ बजेसम्म मन्त्रीको शपथ गराउने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समय लिएको थियो ।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह मात्र होइन, आफ्नै समूहबाट मन्त्री बन्नेहरूको नाम टुंग्याउन प्रधानमन्त्री शेरबहादुर देउवा असफल भएपछि मन्त्रिपरिषद् विस्तार बुधबारलाई सरेको उनीनिकट नेताले बताएका छन् । केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएसँगै प्रधानमन्त्री एवं पार्टी सभापति देउवालगायत नेताले मंगलबार बिहानैदेखि मन्त्रिपरिषद् विस्तारका लागि कसरत गरेका थिए ।

पार्टीको संस्थापन पक्षसँग ४० प्रतिशत भाग माग गरेको पौडेल समूहसँग सहमति जुटे पनि कुन-कुन मन्त्रालय दिने भन्ने विवाद सुल्झन नसकेको नेताहरू बताउँछन् । पौडेल समूहले बलबहादुर केसीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित चार जनाको नाम पठाउन खोजेपछि केसीको नाममा समूहभित्रै विवाद भएको थियो । प्रधानमन्त्री देउवा पनि अनिच्छुक देखिनुका साथै भौतिक मन्त्रालय आफूनिकटलाई दिने अडान लिएपछि पौडेल समूहले केसीको नाम हटाएको थियो ।

सुरुमा पाँच मन्त्रालय दाबी गरे पनि देउवासँग पौडेलको भेटघाटपछि चारवटामा सहमति जुटेको थियो । पौडेल समूहले कुन मन्त्रालय लिने भन्ने टुंगो नलागेपछि विवाद भएको थियो । त्यसपछि उक्त समूहले साढे ५ बजे मात्र चार जना नयाँ अनुहार मन्त्रीका लागि सिफारिस गरेको देउवा समूहको दाबी छ । याे खबर अन्नपूर्ण पोस्टमा छ ।

मन्त्री बन्नेको सम्भावित सूची

पौडेल समूह

  • रामकृष्ण यादव
  •  राजन केसी
  • सञ्जय गौतम
  • यज्ञबहादुर थापा
  • देउवा समूह
  • मीन विश्वकर्मा
  • अर्जुन जोशी
  • वीरबहादुर बलायर
  • अम्बिका बस्नेत

खड्का समूह

  • मोहनबहादुर बस्नेत

सिटौला समूह

  • भीमसेनदास प्रधान

माओवादी केन्द्र

  • गिरिराजमणि पोखरेल
  • टेकबहादुर बस्नेत
  • शिवकुमार मण्डल
  • महेन्द्रबहादुर शाही
  • श्यामकुमार श्रेष्ठ
  • महिलामा सीता नेपाली वा आशा खनालमध्ये एक

लोकतान्त्रिक फोरम

  • जितेन्द्र देव
  • गोपाल दहित
shares