बर्दियाको गुलरिया जोडने हुलाकी सडकको यस्तो छ बेहाल

भावुक योगी, बर्दिया, १० साउन । बर्दियाको सदरमुकाम गुलरिया देखि भुरिगाउँ र कोठियाघाट हुलाकी सडक हिलाम्मे हुँदा सदरमुकाम ओहोरदोहोर गर्न समस्या भएको छ ।

निर्माणाधिन हुलाकी सडकमा ठूलाठूला खाल्डाखुल्डी र हिलोले गर्दा साना तथा ठुला सवारी साधन चलाउन समस्या भएपछी ओहोरदोहोर गर्न समस्या भएको हो ।
सडक हिलाम्मे हुँदा सदरमुकाम आवतजावत गर्न सास्ती भएको भन्दै ठाकुरबाबा नगरपालिकाको भुरीगाउँ र नेउलापुरका स्थानियवासीहरु हुलाकी सडकमा उत्रिएर ग्राभेल हाल्न माग गरिरहेका छन ।
हुलाकी सडक निर्माणको जिम्मा पाएको शर्मा राजेन्द्र जेभि कम्पनीले सडक किनारमा ग्राभेल नहाली माटो मात्रै हालेका कारण सडक हिलाम्मे भएकाले तुरुन्त ग्राभेल गर्न माग गर्दै स्थानिय वासिन्दा अान्दोलनमा उत्रिएका छन   ।


वर्षाको समयका लागि हिलाम्मे सडकमा ग्राभेल हालेर सदरमुकाम ओहोरदोहोरका लागि सहज बनाउन माग गर्दै उनिहरु विहान ६ बजे देखि सडकमा उत्रिएका हुन ।

सडकमा उत्रिएका महिलाहरुले बस, ट्रक, जीप, मोटसाईकल, साईकल समेत चल्न दिएका छैनन । अविरल बर्षा हुन थालेपछि सदरमुकाम गुलरियाबाट भुरिगाउँ र कोठियाघाट जोडने सडक खण्ड हिलाम्मे भएको छ ।

सडकको विभिन्न ठाउँमा नयाँ माटो पटानी गरेकाले गाडी चिप्लीएर चलाउनै नसक्ने भएको छ । हिलोका कारण सवारी साधन नचल्दा सरकारी कामकाजका लागि सदरमुकाम जानेहरुलाई बिच बाटोबाटै फर्कनु पर्ने बाध्यता रहेको छ ।
भुरिगाउँ र कोठियाघाट देखि सदरमुकाम गुलरिया सम्मको हुलाकी सडक हिलाम्मे हुँदा साईकल, मोटरसाईकल तथा पैदल हिड्न समेत अप्ठ्यारो हुने गरेको स्थानियवासी बताउँछन ।

हिलोका कारण बाटो विग्रिदा अत्यावश्यक एम्वुलेन्स लगाएत सवारी साधन चलाउन समेत गाह्रो भएको छ । पानी परेको दिन हुलाकी सडकमा सवारी साधन ठप्प हुने गरेका छन ।
भुरिगाउँ देखि सदरमुका गुलरीयाको सम्मको ३२ किलोमिटर र कोठियाघाट देखि १० किलोमिटर हुलाकी सडकमा जाहातही रहेका ठूलाठूला खाडलमा पानी भरिएकाले सवारी साधन गुड्ने सडक अहिले गाई भैसी आहाल बस्ने ठाउँ जस्तो भएको छ । निर्माणाधिन सडकमा माटो मात्र हालेका कारण पानी परेको दिन पैदल हिड्न समेत अप्ठ्यारो हुने गरेको हो ।
हुलाकी सडक हिलाम्मे भएपछि अघिपछिको तुलनामा सवारीसाधन समेत ज्यादै कम चल्ने गरेका छन । सवारी साधन कम चल्दा सरकारी कामकाजका लागि सदरमुकाम गएकाहरु उतै बास बस्न बाध्य छन ।

सडकमा जहाँतही खाल्डाखुल्डी र हिलोका कारण सदरमुकाम गुलरिया देखि भुरिगाउँ सम्मको ३२ किलोमिटर सडकमा यात्रा गर्दा ३ घण्टा भन्दा बढी समय लाग्ने गरेको छ ।
सडक हिलाम्मे हुँदा ठाकुरबाबा नगरपालिकाको भुरीगाउँ, ठाकुरद्धारा, शिवपुर, नेउलापुर, बगनाहा, ढोढरी लगायतका स्थानियलाई सदरमुकाम गुलरीया आउजाउ गर्न निकै समस्या परेको छ । सदरमुकाम आवतजावत गर्दा सास्ती खेप्नु पर्दा समेत सडक मर्मत गर्ने तर्फ सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन ।